वान डे मान्यता प्राप्त राष्ट्रिय क्रिकेट टिमको अभ्यास शैली पुरानै

पुस २७, २०७५

कीर्तिपुर मैदानमा प्रशिक्षण गरिरहेका राष्ट्रिय क्रिकेट टिमका मुख्य सदस्य शरद भेषावकरसँग बोल्ने नयाँ कुरा खासै छैनन् । हरेक पटकको भेटमा उनी भन्छन्, अवस्था उस्तै त हो तर आशावादी छु । नेपाली टिमले प्राप्त गरेको अन्तर्राष्ट्रिय सफलता र घरेलु क्रिकेटको विकास कतैपनि मेल खाँदैन ।  यो नेपाली क्रिकेटमा देखिएको नयाा समस्या पनि होइन  । आन्तरिक राजनितीका कारण नेपाल क्रिकेट संघ निलम्बनमा परेको तीन वर्ष बढी हुन लागिसक्यो । यसबीचमा नेपाली टिमले एकदिवशीय मान्यता पायो । तर नेपाली टिमको अगाडी एकदिवसीय मान्यता  प्राप्त राष्ट्र जोडिनुबाहेक अरु केही परिवर्तन भएको छैन । एकदिवशीय मान्यता पाएको एक वर्ष पुग्नै लाग्यो । गत साउनमा  आइसीसीको पहलमा नेपालले नेदरल्यान्डसविरुद्ध अन्तराष्ट्रिय एकदिवशीयमा डेब्यु गरेको थियो । दुई खेलको सिरिज एक एकको बराबरी गरेको नेपालले त्यसपछि युएईसँग खेलेको थियो । एसिया कप छनौटमा नेपाल र युएइबीचको खेललाई आइसीसीले एकदिवसीय मान्यता दिएको थियो । हरेक कुराका लागि आइसीसीको भर पर्दा नेपालको क्रिकेट सीमित घेरामा खुम्चिएको छ ।