चार वर्षमा अछाममा मात्रै १३ महिलाको छाउगोठमा मृत्यु

पुस २७, २०७५

महिनावारीप्रतिको अन्धविश्वासका कारण सुदूरपश्चिमका महिलाको ज्यानै जोखिममा परेका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । तर, यस्तो अवस्थाको अन्त्यका लागि तीन तहका सरकारसहित कुनै पनि निकायले प्रभावकारी योजना र कार्यक्रम ल्याएका छैनन् । 

बाजुराको बुढीनन्दा नगरपालिका गाउँमा मंगलबार राति छाउगोठमा आगलागीपछि ३५ वर्षीया अम्बा बोहराको धुवााले निस्सासिएर मृत्यु भयो । आमासँगै छाउगोठमा बसेका उनका नौ वर्षीय छोरा सुरेश र सात वर्षीय रमितले पनि ज्यान गुमाए । यस्तै, गएको जेठमा अछामको तुर्माखाँद गाउँपालिका जुयागाउँमा १८ वर्षकी पार्वती बुढाको छाउगोठमै रहेका बेला सर्पले टोकेर ज्यान गएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम कार्यालयका अनुसार बितेका चार वर्षमा अछाममा मात्रै १३ जना महिलाले छाउगोठमा ज्यान गुमाएका छन् । 

महिनावारी हुँदा छाउगोठमा राख्ने प्रचलन हटाउन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले वर्षेनी ठूलो धनरासी खर्च गरिरहेका छन् । तर, कार्यक्रमको प्रभाव भने खासै देखिएको छैन । अछामको तुर्माखादलाई चारवर्ष अगाडि महिला विकास तथा बालबालिका कार्यालयले विभिन्न गैरसरकारी संस्थाको सहयोगमा तामझामसहित छाउगोठ मुक्त गाविस घोषणा गरेको थियो । तर, तुर्माखाँदमै एक वर्षमा दुई जना महिलाले छाउगोठमा ज्यान गुमाउनु पर्‍यो । 

कानुनले दण्डनीय अपराधको रुपमा व्याख्या गरे पनि शिक्षित र समाजकै अगुवाहरुले नै अन्धविश्वास नत्यागेपछि समस्या नहटेको महिला अधिकारकर्मीको बुझाइ छ । महिनावारी भएका बेला घरभित्र बसे देउता रिसाउने, दुध-दही खान नहुने, छुन नहुने लगायतका रुढीबादी परम्परा हट्न सकेको छैन । छाउगोठमा बस्नुपर्ने बाध्यताले महिलाको स्वास्थ्यमा गम्भीर शारिरीक तथा मानसिक समस्या त हुन्छ नै, ज्यानै जानेसम्मका घटना सार्वजनिक भइरहँदा यो अवस्था रोकथामका निम्ति प्रभावकारी कदम कुनै पक्षले चालेको देखिँदैन ।