नेपाली कांग्रेस छायाँ सरकार गठनको तयारी

पुस २७, २०७५

संसदीय व्यवस्थामा प्रतिपक्ष दल आफैमा छायाँ सरकार हो । तर केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको १० महिनासम्म कांग्रेसले आफूलाई सशक्त प्रतिपक्षको रुपमा स्थापित गर्न सकेन । यहीबेला सरकारको कार्यशैली ठिक नभएको र राजनीतिक परिवर्तन नै खतरामा पर्न थालेको आरोप सहित कांग्रेसले छायाँ सरकारको गृहकार्य थालेको छ ।  विगतमा कांग्रेस आफैले बहुमतको सरकार चलाइरहँदा कमजोर प्रतिपक्षमा रहेको तत्कालीन एमालेले पनि छायाँ सरकार बनाएको थियो । तर त्यसको कुनै प्रभावकारिता देखिएन । अहिले कांग्रेस पनि त्यही अवस्थामा छ । त्यसैले छायाँ सरकार बनाउँदैमा कांग्रेसले खरो प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नेमा अरु विपक्षी दललाई समेत विश्वास छैन ।  सरकारका गलत कृयाकलापको निगरानी र भण्डाफोर गर्नु प्रतिपक्षीको कर्तव्य नै हो । तर सदनमा कमजोर भूमिकाका कारण सशक्त प्रतिपक्षी बन्न नसकेको आलोचना खेप्दै आएको कांग्रेसले छायाँ सरकार मार्फत कस्तो भूमिका देखाउला ? प्रश्न उसैतिर तेर्सिएको छ ।