प्रदेश पाँचको संसद् सचिवालय र मन्त्रालयद्वारा बजार मूल्यभन्दा महँगोमा गाडी खरिद

पुस २७, २०७५

प्रदेश सचिवालयले केही दिनअघि टाटा कम्पनीका ११ वटा टाटा सफारी स्ट्रोम भिएक्स कार खरिद गरेको  थियो । जुन, उपसभामुखसहित विषयगत समिति सभापतिले प्रयोग गरिरहेका छन् । ७१ लाख ९४ हजार ९ सय ९९ रुपैयाका दरले खरिद गरेका यी गाडीमा बजार मूल्यभन्दा तीन लाख ३९ हजार ९ सय ९९ बढी तिरिएको छ । यसबाहेक बिमा गराउन भन्दै प्रति गाडी ५५ हजार छुट्टै उपलब्ध गराउने प्रदेश सचिवालयले जनाएको छ । सामान्यतः गाडी किन्दा कम्पनीले नै बिमा गर्नुपर्छ । 

प्रदेशकै दुईवटा मन्त्रालयले यही गाडी अझ महागोमा किनेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजार र सामाजिक विकास मन्त्रालयले ७२ लाख ४२ हजार तिरेका छन् । गाडीको मूल्य मात्रै होइन गुणस्तरमा पनि ख्याल गरिएको छैन । टाटा सफारी स्ट्रोम भिएक्स बजारमा असफल मानिएको ब्राण्ड हो । त्यसैले कम्पनीले नै यस्तो गाडीमा पााच लाखसम्म छुट दिने गरेको छ । तर, सचिवालय र मन्त्रालयले छुट त कता हो कता, बजार मूल्यभन्दा बढी रकममा खरिद गरेका छन् । 

प्रदेशसभा सचिवालयले भदौ २६ मा र मन्त्रालयहरुले फरक फरक मितिमा विद्युतीय बोलपत्र आहृवान गरेका थिए । यसैका आधारमा टाटा कम्पनीको नेपाल बिक्रेता  सिप्रदी ट्रेडिङले स्थानीय विक्रेता सफल अटो मार्फत गाडी उपलब्ध गराएको थियो । यस अटोका संचालक नेकपाका प्रदेश-५ का प्रमुख सचेतक भूमिश्वर ढकाल पनि हुन् । गाडी खरिद शंकाष्पद देखिएपछि सार्वजनिक लेखा समितिले छानविन थालेको छ ।

प्रदेश सचिवालय र मन्त्रालयले किनेका उस्तै गाडीको मूल्यमा अस्वाभाविक भिन्नता र प्रचलितभन्दा निकै बढी मूल्य तिरिनु, कतै आफ्नै हात जगन्नाथ भएको त  होइन ? लेखा समिति मात्र होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानबिन गर्नुपर्ने देखिन्छ ।