कर्मचारी समायोजन प्रक्रियाका कारण लोकसेवा आयोगको कार्यतालिका बिथोलियो

पुस २७, २०७५

असोज अन्तिममा खोलिने विज्ञापन सरकारकै आग्रहमा दुर्इ महिना पर सारेको लोकसेवाले अझै कहिले नयाँ विज्ञापन खोल्न पाउने हो ठेगान छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम नसकेसम्म नयाँ कर्मचारीको आवश्यकता कति भन्ने एकिन गर्न नसक्ने बताएको छ । 

कुन तहमा कति कर्मचारी आवश्यक पर्ने भन्ने नै एकीन नभएकाले नयाँ आवश्यकतासम्बन्धी विवरण आयोगलाइ पठाउन नसकेको मन्त्रालयको तर्क छ । प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन नगरी नयाँ विज्ञापन खोल्दा संवैधानिक र कानुनी जटिलता समेत रहेको सरकारी पक्षको भनाइ  छ । 

यसअघि हत्पत्ति कार्यतालिका परिवर्तन नगरेको आयोगले  सरकारले विशेष अनुरोध गरेका कारण दुर्इ महिना पछाडि सारिदिएको बताउँदै आएको थियो । तर अहिले भने सरकारले आफूहरुसँग कुनै परामर्श पनि नगरेको र मागपत्र पनि नपठाएकाले यो वर्ष नयाँ कर्मचारी भर्नाको विषय लगभग टरेको आयोगको निष्कर्ष छ । 

हुन पनि सरकारले समायोजनका लागि माघ १ गतेसम्म कर्मचारीलार्इ आवेदन दिने मिति नै तोकेको छ ।  त्यसपछि सरासर काम अघि बढे पनि प्रक्रिया टुंगिन दुर्इ देखि तीन महिना लाग्नेछ । त्यसपछि व्यावहारिक कारणले नै आयोगलाइ नयाँ भर्ना खोल्न कठिन हुनेछ । यसको प्रत्यक्ष असर भने लोकसेवा परीक्षाको तयारी गरिरहेका करिब सात लाख युवालाई पर्नेछ ।