हवाइ रुट थप्न नेपालको प्रस्तावमा भारत सकारात्मक

पुस २७, २०७५

दिल्ली भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भारतीय आकाश हुँदै हवाइ रुट थप्ने नेपालको प्रस्तावमा भैरहेको प्रगतिबारे जिज्ञासा राखेका थिए । भारतीय विदेश मन्त्रालयमा हिजो भएको भेटवार्तामा स्वराजले सकारात्मक जवाफ दिएकी हुन् । तर अन्तर्राष्ट्रिय उडान भर्दा भारतीय अाकाश मार्गमा नेपालले कहिलेबाट नयाँ रूट पाउँछ भन्ने प्रस्टतः दुवै पक्षले जानकारी दिएका छैनन् । भेटका क्रममा भारतले एक सय रुपैंया भन्दा माथिका भारुको प्रयोगमा नेपालले लगाएको प्रतिबन्धबारे पनि चासो राखेको थियो । जवाफमा नेपाली पक्षले नयाँ नोटका सम्बन्धमा भारतको प्रतिबद्धता मागेको छ । भारतको विदेश मन्त्रालयले नीतिगत सुझाव संकलनका लागि गर्ने राइसिना डायलगको चौथो संस्करणमा सहभागी हुन हिजो बिहान दिल्ली पुगेका मन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच बहुपक्षीय परियोजनाहरुलाई तिब्रता दिने बिषयमा पनि छलफल भएको छ । उच्चस्तरीय भ्रमणका समयमा भएका सहमति तथा सम्झौता कार्यान्वयनबारे समेत कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त संयन्त्रको पाँचौ  बैठक छिट्टै काठमाडौमा बस्ने पनि सहमति भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले हिजो नै अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा आयोजित राइसिना डायलगमा सम्बोधन गरेका थिए ।