पहिलो ए डिभिजन लिगमै उपाधि दिलाउन सफल

पुस २६, २०७५

आठौं पटक ए डिभिजन लिगको उपाधि उचाल्ने कीर्तिमान बनाएको मनाङ मर्स्याङदी क्लबका प्रशिक्षक सुमन श्रेष्ठले वेष्ट कोच अवार्ड पनि जिते। राष्ट्रिय टिमको जर्सी लगाएर नेपालको प्रतिनिधित्व गर्ने सपना पूरा गर्न नसकेका  सुमनले मनाङलाई उपाधि जिताउँदा फुटबल करियरकै सबैभन्दा ठूलो सफलता चुमेका छन् । 

चार दशकअघिसम्म धनकुटामा फुटबल खेलाडीहरु बिरलै हुन्थे। त्यहीबेला सुमन श्रेष्ठ  नेपाली फुटबलमा पहुँच राख्ने उदेश्यका साथ संघर्षरत थिए । फुटबल खेलाडीका रुपमा उनले तीन दशक बिताइसके । स्कुल, जिल्लास्तरीय खेल्दै २०६० सालदेखि राष्ट्रिय लिगमा सुमन जमे ।  

अहिले नेपाली फुटबलले उनलाई उत्कष्ट प्रशिक्षकको रुपमा फरक चिनारी दिएको छ । तर फुटबलका लागि राष्ट्रिय टिममा समेटिने उनको सपना भने अधुरै रहृयो । राष्ट्रिय टिमको जर्सी लगाएर देशकेा प्रतिनिधित्व गर्न नपाएकोमा उनी अहिले पनि दु:खी छन् । 

खेलाडी करियरमा हात पार्न नसकेको सफलता उनले प्रशिक्षक हुँदा पाए । २०६० सालबाटै उनले प्रशिक्षकको करियर सुरु गरेका थिए । अफ्रिकी प्रशिक्षक फुजा तोपेलाई मनाङका प्रमुख प्रशिक्षकका रुपमा अनुबन्ध गर्दा कागजी प्रक्रिया मिलेन । जसले गर्दा  सुमन सहप्रशिक्षकको रुपमा मनाङसँग आबद्ध हुन पाए । 

आर्मी ब्यारेज, ब्वाइज युनिएन जस्ता क्लवमा प्रशिक्षक भइसकेका उनले लिगका लागि पहिलो पल्ट मनाङलाई सम्हालेका थिए । र सफल पनि भए । एएफसीबाट ए डिभिजन फुटबलको प्रशिक्षकको लाइसेन्स पाइसकेका सुमन मनाङमा रहँदा टिमले सिक्किममा गभर्नर गोल्डकप समेत गरि १४ वटा घरेलु तथा अन्य प्रतियोगिता जितेको छ । मनाङले जितेको एक पछि अर्को अवार्डले उनलाई नेपाली फुटबलमा नयाँ आयाम थप्न उत्साहित बनाएको छ ।