दिवंगत प्रहरीका परिवारका सदस्यले आँसु झारेपछि माहोल भावुक

आश्विन २६, २०७५

नेपाल प्रहरीले प्रदेशस्तरमा पहिलोपटक तामझामसाथ आफ्नो स्थापना दिवस मनाएको छ । तर प्रहरी मुख्यालयले मनाउने गरेको स्थापना दिवसभन्दा प्रदेशमा मनाइएको स्थापना दिवसमा केही फरक देखिएन । सहादत प्राप्त गरेका प्रहरीका पत्नीले आँसु वगाउने अनि  मन्त्रीहरुले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्ने पुरानै दृष्य दोहोरियो ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा मनाइएको प्रहरी स्थापना दिवस कार्यक्रममा प्रहरीका अलावा अलावा दिवंगत प्रहरीका परिवारका सदस्य पनि सहभागी भए । स्थापना दिवसका दिन खुशी साटासाट गर्नुपर्ने ठाउामा माहोल एकाएक भावुक बन्यो । दिवंगत प्रहरीका परिवारका सदस्यले आँसु झारेपछि माहोल भावुक बनेको हो ।  

तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वलगायत मुलुकको आन्तरिक सुरक्षाका लागि विभिन्न समयमा प्राण आहुति दिएका प्रहरीका परिवारले स्वास्थ्योपचार र बालबच्चाको शिक्षादिक्षादेखि गुजारा चलाउन समस्या भएको तर राज्यले बेवास्ता गरेको गुनासो पोखे । 

दिवंगत प्रहरीका परिवारका सदस्य प्रदेश सरकारले सहयोग गर्ने आश लिइ दुई दिनअघि नै जनकपुरमा जम्मा भएकामा रित्तो हात फर्किए । प्रहरी अधिकृतहरुले विगतमा जस्तै समस्या सुनाए भने मुख्यमन्त्रीले श्रद्धाञ्जली मात्र व्यक्त गरे । 

शान्ति सुरक्षा बहालीका क्रममा विभिन्न समूहसागको मुठभेडमा ७२ हजार जनशक्ति कार्यरत रहेको नेपाल प्रहरीका १६ सय १० जनाले सहादत प्राप्त गरेका छन् ।