कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित सांसदहरु फुर्सदिला

भाद्र २९, २०७५

कर्णालीमा मुख्यमन्त्रीदेखि सांसदहरु प्रदेश राजधानी छाडेर घुमघाममा निस्किएका छन् । सरकारले काम नदिएको भन्दै प्रदेश सभामा विदा मनाइएको छ भने प्रदेश सभालाई कानुनको मस्यौदा दिनुपर्ने मन्त्रिमण्डलका सबैजसो सदस्य प्रदेशको मुकाम बाहिर छन् । सुर्खेतबाट कमल पन्तको रिपोर्ट -

साउन २५ गतेदेखि अर्को सूचना नहुादासम्मका लागि प्रदेशसभा बैठक स्थगित भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित सांसदहरु फुर्सदिला भएका छन् । जन सरोकारका महत्वपूर्ण सवालमा छलफल हुनुपर्ने संसद बिजनेस नभएको भन्दै स्थगित गरिएपछि मुख्यमन्त्री, मन्त्री, सांसदहरु राजधानी बाहिर लागेका छन् । संसद सचिवालय भने सरकारले दिने बिजनेसको प्रतीक्षामा   छ । 

सत्तारुढ पार्टीको एकतापछि जिल्ला तथा क्षेत्रको नेतृत्वको लविङका लागि सांसदहरु संघीय राजधानी तथा निर्वाचन क्षेत्रमा गएकाले संसदलाई बिजनेस नदिइएको प्रतिपक्षी सांसदको आरोप छ । प्रदेश सभामा दर्ता भएका विधेयक विषयगत समितिमा विचाराधीन छन् । दुई वटा विधेयक संसदमा दर्ता समेत भएका छैनन् । महत्वपूर्ण कानून नै नबनेको अवस्थामा सरकारले नै प्रदेश सभा बैठकलाई अनिश्चित र कामविहीन बनाएको छ ।