निर्मला प्रकरणमा संसदीय छानबिन माग

भाद्र २९, २०७५

कञ्चनपुरमा १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सांसदहरूले संसदीय छानबिनको माग गरेका छन् । सांसदहरूले डेढ महिना भैसक्दा पनि सत्यतथ्य बाहिर आउनुको सट्टा घटना थप रहस्यमय बनेको भन्दै संसदीय छानबिनको  माग गरेका हुन्।  एक रिपोर्ट‍

बिहीबारको प्रतिनिधिसभा बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिषयमा सरकारको जवाफ माग गर्दै सदन अघि बढ्न दिएन। त्यसपछि सभामुख कृष्णबहादुर महराले सरकारको ध्यानाकर्षण गराउँदै उपयुक्त समयमा जवाफ आउने बताएपनि विपक्षी टसकोमस नभएपछि बैठक स्थगित नै गरियो । दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले छानबिन आयोगले  प्रतिवेदन टुंङ्गोमा पुर्याउन लागेको जानकारी दिँदै छिट्टै सत्यतथ्य बाहिर आउने बताए । 

कानूनमन्त्रीको जवाफ कामचलाउ भन्दै सांसदहरुले भने चित्त बुझाइरहेका थिएनन् । उनीहरुले निर्मलाको बलात्कार हत्या प्रकरणमा छानबिनको नाममा झारा टार्ने घटनाक्रमले दोषीमाथि कारबाही हुनेमा आशंका गरे । अहिले भैरहेको छानविनले सत्यतथ्य बाहिर ल्याउनेमा शंका उत्पन्न भएको भन्दै सत्तापक्षकै सांसदले स‌ंसदीय जाँचबुझ समिति बनाउन माग गरे । कन्चनपुरकी बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नै प्रमाण नष्ट गरेको भन्दै चौतर्फी आलोचना भैरहँदा संसदीय समिति बनाएर छानविन गर्न सके वास्तविकता सार्वजनिक गर्न सहज हुनेछ ।