प्रदेशसभा सदस्य आफ्नै सेवा सुविधा बढाउनतिर लागे

भाद्र २७, २०७५

प्रदेशको स्थायी राजधानी तोक्ने लगायत महत्वपूर्ण काम छाडेर सात नम्बर प्रदेशका मुख्यमन्त्री, मन्त्री  र प्रदेशसभा सदस्य आफ्नै सेवा सुविधा बढाउनतिर लागेका छन् ।

सरकारले पेस गरेको सेवा सुविधासम्बन्धी विधेयक प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले पारित गरेको छ । विधेयक अनुसार सांसददेखि मुख्यमन्त्री सबैले पाउने फर्निचर खर्च ४० हजार रूपियाँबाट एक लाख पुर्याइएको छ । सन्चार सुविधा पनि दुई गुणाले बढाइएको छ । सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र समितिका सभापतिको पनि भत्ता बढाइएको छ । प्रदेश सभा पदाधिकारी र सदस्यहरूको १० लाख बराबरको बिमा सुविधालाई संशोधन गरेर १५ लाख रुपैयाँ पुर्‍याइएको छ । एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक चाडपर्वमा खर्चकै रुपमा पाउने गरि थपिएको  छ । प्रदेश सभाको पूर्ण बैठकले पारित गरेपछि यो सुविधा कार्यान्वयनमा आउनेछ ।