आज हरितालिका तीज

भाद्र २७, २०७५

आज हरितालिका तीज । भगवान शिवको पूजाआराधना गरी धुमधामका साथ मनाइँदैछ ।

तीजको अवसरमा काठमाडौंको पशुपतिनाथमा आज विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । त्यस्तै देशका विभिन्न स्थानमा रहेका शिवालयमा पनि श्रद्धालु भक्तजन पूजा आराधनाका लागि पुगेका छन् । हरीतालीका तीजमा नारीहरु निराधार ब्रत बसी शिवको पुजा आराधना गर्दछन् । सत्य युगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरी महादेव स्वामी पाउन कामना गरेकी थिइन् भन्ने धार्मिक विश्वास छ । त्यसपछि पार्वतीले महादेव स्वामी प्राप्त गरेको धर्मशास्त्रमा उल्लेख छ । त्यसै बेलादेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धार्मिक मान्यता रही आएको छ । आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने जन विश्वास छ । अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित महिला एवं पुरुषहरुले असल वर र वधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने चलन छ ।

यसै बीच पशुपतिनाथ पुग्ने भक्तजनलाई सहज दर्शन, स्वास्थ्य र सुरक्षाको समेत सबै  प्रबन्ध गरिएको कोषले जनाएको छ । कोषले दर्शनार्थीहरुको सुविधाका लागि मित्रपार्क- गौरीघाट, जयवागेश्वरी- शंकराचार्यमठ, वनकाली- चार शिवालय गरी तीन तर्फबाट लाइनको व्यवस्था गरेको छ । बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुल्ला गरिएको छ ।