धनकुटाका कृषिजन्य उद्योग बन्द हुने क्रम बढ्यो

भाद्र २६, २०७५

एकल र साझेदारीमा सञ्चालित धनकुटाका कृषिजन्य उद्योग बन्द हुने क्रम बढेको छ ।  उद्यमशीलता र उत्पादनभन्दा पनि अनुदानमुखी परनिर्भर भएकै कारण यस्ता उद्योग लामो समय टिक्न नसकेका हुन् ।

पाँच करोड रुपैयााको लागतमा धनकुटाको आत्मारामा खुलेको मल्टीएग्रो कम्पनी सन्चालनमा आएको वर्ष दिन नपुग्दै बन्द भयो । धनकुटाकै पात्लेमा सन्चालित बंगुर श्रोत विकास केन्द्र तीन वर्ष भन्दा बढि टिक्न सकेन । उत्पादन, उद्यमशीलता र दीर्घकालीन ब्यवसायिक योजनाभन्दा पनि अनुदानको आसमा खोल्ने र बन्द गर्ने प्रवृत्तिले धनकुटामा सन्चालित कृषिजन्य उद्योगले स्थायित्व पाउन नसकेका हुन् ।  

पाँच वर्ष यता मात्रै धनकुटाका ४० भन्दाबढि यस्ता उद्योग बन्द भए । परम्परागत ब्यबस्थापन, अविकसित ब्यवसायिक संस्कार र कमजोर बजारका कारण सन्चालनमा रहेका कृषि फार्मले गति लिन सकेका छैनन् । फार्म सन्चालक फार्म टिक्न नसक्नुमा बजारनै मुख्य समस्या रहेको बताउाछन् । 

सहयोग पाइन्छ कि भनेर खोलिएका उद्योग, कतैबाट सहयोग नपाउँदा पराक्रम गरेर देखाउनुको साटो उद्योग नै बन्द गर्ने प्रवृत्ति बढेको हो ।