नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आन्तरीक सुरक्षाको चुनौती

भाद्र २६, २०७५

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पछिल्लो आन्तरिक सुरक्षाको मुख्य चुनौति रहेको सुरक्षा निकायको विश्लेषण छ । त्यही पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा विगत एक महिनादेखि प्रहरी हिरासतमा छन् । काठमाडौंमा जबरजस्ती चन्दा उठाएको आरोपबाट सुरु भएको पक्राउ शृंखला दाङ पुगेको छ । रिपोर्ट -

काठमाडौं प्रहरी परिसरले राजधानीमा अवैध रुपमा सात करोड रूपियाँबराबर चन्दा असुलेको भन्दै साउन २२ गते विश्वकर्मा विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । जिल्ला अदालत काठमाडौंले तिन पटक थुनामा राख्न म्याद दियो । तर विश्वकर्माका आफन्त गैरकानुनी थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत पुगे र सर्वोच्चले छोड्न आदेश दियो ।  सर्वोच्चबाट बाहिर निस्कन नपाउँदै प्रहरीले प्रकेर काभ्रे पठाइदियो, जहाँ विश्वकर्माविरूद्ध आगजनीको मुद्धा थियो । त्यसमा पनि जिल्ला अदालतले थुन्न अनुमति दियो भने सर्वोच्चले छोड्न आदेश दियो । काभ्रेबाट नुवाकोट, भोजपुर हुँदै अहिले दाङ पुर्याइएका विश्वकर्मा कर्तव्य ज्यान र बम विष्फोटको आरोपमा थुनामा छन् । भोजपुरमा ६० हजार धरौटी बुझाउने बाहेक अधिकांशमा सर्वोच्चले छोड्न आदेश दिएको छ । 

राजनीतिक आवरण देखिए पनि चन्द समूह अहिले आन्तरिक सुरक्षाको मुख्य चुनौतिको रूपमा सुरक्षा निकायको बुझाइ छ । एकातिर सरकारले वार्ता गर्ने भन्दै चन्द समूहलाइ पनि राजनीतिक कोटीमा राखेको छ भने अर्कोतिर त्यही समूहका विश्वकर्मा  फौजदारी आरोपमा थुनामा छन् । 

शान्ति सुरक्षाका लागि कुनै पनि अवरणमा हुने गैरकानुनी गतिविधि नियन्त्रण र दोषिलाई कार्वाही गर्नु राज्यको दायित्व हो । तर चन्द समूहलाइ राजनीतिक व्यवहार गर्ने हो कि कानुनी कारवाही, सरकार पहिला यसमा स्पष्ट हुनु जरूरी छ ।