खेलसँग असम्बन्धित व्यक्तिले परिषद्को खर्चमा जकार्ता घुमे

भाद्र १९, २०७५

एशियाली देशहरुका लागि ओलम्पिक जस्तै मानिने एशियन गेम्समा यसपटक नेपालको प्रदर्शन यसअघिका प्रतियोगितामाभन्दा फरक रहेन । २९ खेलमा एक सय ८७ खेलाडीले सहभागिता जनाउँदा एक सयभन्दा बढी पदाधिकारी जकार्ता घुम्न पुगे । पदाधिकारीले घुमघामको आनन्द लिंदा र चर्चामै नरहेका खेलमा सहभागीता जनाउँदा सरकारले दिएको ५ करोड रुपैयाँ पनि अपुग भएको छ ।

एशियन गेम्सको तयारीका लागि आवश्यक बजेट नै छैन भन्ने राष्ट्रिय खेलकुद परिषद्ले २९ खेलमा खेलाडी पठायो । २९ मध्ये केही खेल यस्ता छन् जसको चर्चा नेपालमा हुदैन । कुराश, सेपाकताक्रो र स्केटबोर्ड खेलमा नियमितरुपमा प्रतियोगिता भएको देखिंदैन । तर परिषद्ले पदकको आशा गरिएका खेलमा राम्रोसँग प्रशिक्षण गराउनुको साटो नामै नसुनिएका खेलमा लगानी गर्‍यो । जसको नतिजा हातमा लाग्यो शुन्य । 

एशियाड जस्तो ठूलो प्रतियोगितामा अनुभवका लागि बालुवामा पानी खन्याए सरह गर्नुभन्दा पदकको सम्भावनालाई ख्याल गरिनुपथ्र्यो । तर स्वार्थी पदाधिकारीको लहलहैमा अनावश्यक खेलमा भाग लिइ पदकविहिन हुँदा खेल क्षेत्रप्रतिको धारणा नै नकारात्मक बन्न पुग्यो । नेपालले भाग लिएका कतिपय खेलमा विवाद देखियो । उसुमा घाइते खेलाडीलाई प्रतिस्पर्धामा उतारियो, एथ्लेटिक्समा म्याराथन धावक गोपीचन्द्र पार्की र कृष्ण बस्नतेले बिचैमा दौड छोडे भने यामसाजन सुनारले दुई सय मिटर दौडमा भाग नै लिएनन् । एउटा खेलमा अर्कै खेलका व्यक्तिलाई म्यानेजर बनाएर पठाएको जकार्तामा देखियो । 

विदेशमा हुने ठूला खेलकुद प्रतियोगितामा आफ्ना आसेपासेलाई पठाउने गलत परम्परालाई सदस्यसचिव विष्टले पनि अनुसरण गर्दा खेलसँग असम्बन्धित व्यक्तिले परिषद्को खर्चमा जकार्ता घुम्ने अवसर पाए । परिषद्को नेतृत्वले ठूला प्रतियोगितालाई घुमघामको अवसरका रुपमा लिने क्रम नतोडेसम्म नेपालको प्रदर्शनस्तर सुधारिनुको साटो झन खस्किने निश्चित छ ।