गोबरग्याँस उद्घाटन कुनै नयाँ काम होइन !

भाद्र ७, २०७५

आफू पहिलोपटक प्रधाननमन्त्री हुँदा घरघरमा खाना पकाउने ग्यासको पाइप जोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो कार्यकालको ६ महिनापछि गोबरग्याँस उद्घाटन गर्न विराटनगर पुगेर तामझाम देखाए । तर, उनले तामझामका साथ उद्घाटन गरेको परियोजना भने कुनै नयाँ काम थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओली म‌ंगलबार स‌ंघीय सरकारका तीन मन्त्री सहित बिराटनगर पुगे ।

दुई सय घन मिटर क्षमताको गोबर ग्यास प्लाण्ट उद्घाटनका लागी प्रधानमन्त्री विराटनगर पुग्दाका दृष्य हुन् यी ।  

सिंहदवारको अधिकार प्रदेश र गाउँसम्म पुर्याउन मुलुकले संघीय प्रणाली अवलम्वन गरेको ६ महिना नाघिसक्यो । तर केन्द्रबाटै लस्कर लगाएर जाने क्रम पुरानै छ । अहिले त बिराटनगर, महानगरपालिका मात्र होइन, प्रदेश १ को राजधानी पनि हो । 

मुख्यमन्त्रीको नेतृत्वमा प्रादेशिक सरकारको मुकाम पनि छ यहीँ छ । 

दुई तहमा निर्वाचित सरकार हुँदाहुँदै तामझामका साथ बिराटनगर पुगेका प्रधानमन्त्री ओलीले  ग्यास उत्पादन ठूलै उपलव्धि भएको मात्रै बताएनन्, सिलिण्डरको जमाना गएको समेत भन्न भ्याए । 

विश्व बैंकको ६५ लाख रूपियाँ अनुदान, सरकारको ४७ लाख, विराटनगर महानगरको १२ लाख, जिल्ला समन्वय समितिको सात लाख र गोसदन नामको लगानीमा निर्मित प्लान्टबाट ३२ घर परिवार लाभान्वित हुनेछन् ।  

प्रधानमन्त्री अोलीले उद्घाटन गरेको यो कुनै नयाँ परियोजना भने होइन । ग्रामिण भागमा केही दशकयता गोबरग्यासको प्रयोग हुँदै आएको छ । गाईभैसीको गोबर र शौचालयकबाट ग्यास उत्पादन गरी खाना पकाउने तथा बत्ति बाल्ने गरिँदै आएको हो ।