सिंहदरबार कंक्रिटको जंगल बन्दै

श्रावण २५, २०७५

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबाले आफ्नो स्वरुप मात्रै फेर्दै छैन, पुरानो पहिचान र सम्पदा समेत नामेट हुने गरी कंक्रिटको जंगल बन्दै छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गरेको सिंहदरबारमा २०३० सालमा आगलागी भएपछी यो ऐतिहांसिक सम्पदाले विस्तारै नयाँ रुप लिन थाल्यो । अहिले त भएका बागबगैँचा समेत मासेर जथाभावी संरचना ठड्याउने होड नै चलेको छ ।

८ सय ८ रोपनी क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा एउटा ठुलो दरबार थियो । ९ वटा चोक थिए । ठुलो पर्खालले चारैतिर घेरेर बीचमा युरोपेली वास्तुशैलीबाट प्रभावित तर नेपाली मौलिकता समेत झल्किने गरी दबार बनाइएको थियो । प्रशस्त खुला ठाउँ भएकाले सिंहदरबाभित्रै खेत रोपाईं हुन्थ्यो । तर यो सबै इतिहासमा सीमित भएको छ । २०३० सालको आगलागी भएपछी पुरानो सिंहदरबारको पश्चिम मोड मात्र बाँकी रह्यो । त्यसपछी जति पनि संरचना निर्माण भए, सबै आधुनिक शैलीका बने । पुरानो शिल्प र कला मात्रै हराएन, सम्पदा समेत सबै मासिए । 

जथाभावी ठड्याइएका संरचनाले सिंहदरबारलाई कोलाहल मात्रै बढाएको छैन, कुरुप समेत बनाएको छ । अहिले सिंहदरबाभित्रका भवनहरुलाई दुई वटा जोनमा विभाजित गरिएको छ । ए जोनमा ६ वटा भवन रहेका छन् । जुन सिंहदरबार निर्माणको शैलीलाई पछ्याउन खोजिएको छ । बी जोनमा भने पुरै आधुनिक शैलीबाट घर निर्माण गरिएको छ । बि जोनमा १२ वटा ठुला भवन छन । यस्तै अन्य समुहमा साना ठुला गरेर ५५ भवन छन् । र, अझै थपिँदै छन् । सुन्दर र ऐतिहासिक पुतली बगैँचा नासेर संसद भवन ठड्याइँदै छ ।

योजनाबद्ध चल्ने मुलुकमा सरकारी भवन एकनासका हुन्छन् । भवनहरुले त्यो देशको परिचय बोकेको हुन्छ । तर हामीकहाँ भने आधुनिकताको नाममा सम्पदामाथी नै हस्तक्षेप गरी नयाँनयाँ भवनहरु बनाउँदैंछौ । ठूला प्रकोप र संकटमा समेत काम लाग्ने चार दिवारभित्रको सुरक्षित क्षेत्रमा खुला ठाउँ नै बाँकी नरहने गरी खचाखच संरचना भर्नुले सरकारी अधिकारीहरुमा सुरक्षा मामिलामा समेत गम्भीरता र संवेदनशीलता नभएको देखाउँछ ।