पैदल यात्रुदेखि मोटरसाइकल चालकसम्म टिप्पर आतंकको शिकार

असार २८, २०७५

काठमाडौंमा टिप्परको ठक्करले दैनिकजसो मान्छेको ज्यान लिइरहेको छ । पैदल यात्रुदेखि मोटरसाइकल चालकसम्मले टिप्पर आतंकको शिकार हुनुपरेको छ । रिपोर्ट -

मंगलबार दिउँसो करिब साढे १ बजे १८ वर्षीय रोयल सुवेदी भक्तपुरबाट काठमाडौंतिर आइरहेका थिए । जडिबुटी चोक पुग्न नपाउँदै बा ४ ख ८७२५ नम्बरको टिपरको ठक्करले सुवेदीको ज्यान लियो । यही ठाउँमा एक महिनाअघि टिपरले नै स्कुटरमा सवार अस्मिताराज भण्डारीको ज्यान लिएको थियो । काठमाडौंमा वालुवा , गिटि बोक्ने टिपरको आतंकले सडकमा पैदलयात्रु देखि सानो सवारी चालकका लागि ज्यान जोगाउनै मुस्किल भएको छ । प्रहरी तथ्यांक अनुसार उपत्यकामा मात्रै गत साउनयता ट्रक तथा टिप्परका कारण १८ जनाको ज्यान गइसकेको छ । देशै भर  रहेका ७ हजार टिपर मध्य अधिकांश काठमाडौंमै चल्छन ।  त्यसैले हरेक दिन सडकमा टिप्परका कारण मान्छे मारिँदा समेत सरकारी संयन्त्र  निरीह देखिन्छ । 

अपरिपक्व चालक पनि र्दुघटनाको मुख्य कारण देखिन्छ । त्यसो त राजधानीजस्तो ठाउँमा टिपरको गति नियन्त्रण गर्न आवश्यक राडार समेत ट्राफिक प्रहरी संग छैन । जसका कारण चालकहरू मनपरी शैलीमा टिपर हुइँकाइरहेका छन ।  रकम लेनदेनमा गएर मुद्दा टुंग्याउने प्रवृत्तिका कारण  चालकहरुमा मान्छे मारिँदा समेत कुनै ग्लानी नभएको देखिन्छ । 

गृह मन्त्रालयले काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई राती ८ बजे देखि बिहान पााच बजे सम्म मात्रै टिपर  चलाउन पाइने निर्देशन बुधबार जारी गरेको छ । तर समयसीमा मात्र होइन, टिपर आतंक नियन्त्रणका लागि कडा कानुनी कारवाही जरुरी छ ।