आमा गंगामायाले अनसन जारी राखिन्

असार २७, २०७५

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी अभियुक्त छविलाल पौडेल थुनिएपछि पनि अधिकारीकी आमा गंगामायाले अनसन जारी राखेकी छन् । रिपोर्ट -

गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका मुख्य अभियुक्त छविलाल पौडेलले अदालत समक्ष आत्मसर्मपण गरेपछि आइतबार पुर्पक्षका लागि थुनामा पठाइएको छ । २०७२ पुस ६ गते सर्वोच्चले आदेश दिए पनि छविलाल तिन वर्षपछि मात्रै आत्मसमर्पण गरेका हुन् । गंगामायाले भने दोषी सबैलाई कारवाहीको माग गर्दै वीर अस्पतालको आइसियू कक्षमै अनसन जारी राखेकी छन् । 

सशस्त्र द्वन्द्वकालीन यस घटनामा २०७० चैत ३० गतेदेखि जिल्ला अदालत चितवनमा मुद्दा विचाराधिन छ । मुद्दाका सबै अंग पुगिसके पनि फैसलामा ढिलाइ भएको गंगामायाको गुनासो छ । सरकारी पक्षले उनका माग कार्यान्वयनमा गइसकेको जानकारी दिए पनि उनलाइ आश्वस्त पार्न नसकेको अधिकारकर्मी बताउँछन् ।

गंगामायाको माग मात्र होइन, उनीजस्ता कैयौ द्वन्द्वपीडितको आवाज सम्बोधन गर्न राज्य जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउँछिन्,  राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी ।

छोरा कृष्णप्रसादका हत्यारामाथि कारवाही माग गर्दागर्दै अनसनकै क्रममा गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको ज्यान गइसकेको छ । त्यसैले न्यायको माग गर्दा ज्यान जान नदिन यो मुद्दाको तत्काल किनारा लगाउनुपर्छ ।