अपराधीहरुलाई सोझै असल चरित्रको प्रमाणपत्र

असार २५, २०७५

खासगरि विदेश जाँदा चाहिने आवश्यक कागजात हो, चारित्रिक प्रमाणपत्र । यस्तो प्रमाणपत्रमा अपराध गरे नगरेको उल्लेख हुन्छ ।  प्रहरीमा भएको अभिलेखअनुसार यस्तो प्रमाण पत्र जारि गरिन्छ । तर केही यस्ता ठुला अपराध छन्, जसको अभिलेख प्रहरीमा हुँदैन । यसले गर्दा त्यस्ता अपराधीहरुले सोझै असल चरित्रको प्रमाणपत्र पाइरहेका छन् ।

वन्यजन्तु सम्बन्धी अपराध अनुसन्धानका लागि छुट्टै शाखा भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गत बर्ष मात्रै ३५ वटा कार्वाहीबाट ७१ जनालाई समात्यो । तर अनौठो त यो छ की, बन्यजन्तुसँग सम्बन्धित अपराधमा संलग्नहरुकाबारे प्रहरीमा रेकर्ड नै हुँदैन् । त्यसैले यस्ता अपराधीहरु विदेश भाग्न खोजे उनीहरुले प्रहरीबाटै असल चरित्रको प्रमाणपत्र पाउँछन् ।  सिधै क्लिन चिट पाउँछन् ।  किनभने वन्यजन्तु सम्बन्धी अपराधको मुद्दा वन विभाग र वन्यजन्तु तथा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग मातहतका कार्यालयले मात्रै चलाउँछन । त्यसैले सजाय पाउनेको विवरण प्रहरीमा आउँदैन र अपराधी सजिलै भाग्छन् ।

कुनै नेपाली नागरिकले अपराध गरे नगरेको विवरण  दिने एक मात्र निकाय नेपाल प्रहरी हो । तर वन्यजन्तु सम्बन्धी अपराधमा संलग्नले मात्रै होइन भ्रष्टाचार, श्रम, अध्यागमन, राजश्व छलि लगायतका गम्भीर मुद्दाका अभियुक्तको रिपोर्ट पनि प्रहरीमा राख्ने ब्यवस्था छैन ।  यही कारण यी अपराधमा संलग्न अभियुक्तहरु सजिलै उम्कन र विदेश जान पाइरहेका छन् । 

प्रहरीको तथ्यांकमा आफुले मुद्दा चलाएका घटनाका अभियुक्तहरुको मात्रै रेकर्ड हुने भएकोले अन्य मु्द्दामा सजाउँ पाएका वा अभियुक्तहरु सजिलै विदेश भाग्न पाइरहेका छन् । तसर्थ जुनसुकै निकायबाट सजाय पाएका वा फरारको सूचीमा रहेकाहरुको अभिलेख  प्रहरीमा राख्नैपर्ने व्यवस्था मिलाउन आवश्यक छ ।