फर्कियो वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक पुरानै स्वरुपमा

असार २४, २०७५

भूकम्पबाट क्षतिग्रस्त काठमाडौं वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक प्रबलिकरण अर्थात रेट्रोफिटिङपछि पुरानै स्वरुपमा फर्किएको छ । एक सय दश बर्ष पुरानो यस राणाकालीन दरबारको पुन: प्रयोग र संरक्षणको योजना भने सरकारसँग छैन ।

काठमाडौंको बसन्तपुरमा मल्लकालिन दरबार तथा मन्दिर बीचको सेतो चहकिलो दरबारले नेपाललाई युरोपेली वास्तुकला र निर्माण शैलीसंग जोडेको छ । अग्ला खम्बा र झ्याल ढोका भएको दरबार बेलायतको ग्यालरी बैठकको स्वरुपमा विक्रम संवत् १९०८ मा निर्माण गरिएको थियो । २ हजार ७२ को भूकम्पले भत्किएको गद्दी बैठक अमेरिकन एम्बेसडर फण्डको ७ करोड रुपैयाँ सहयोगमा प्रबलीकरण गरिएको छ । भित्र पस्नेवित्तिकै चिनियाँ काष्ठकलाको आकर्षक ड्रयागनद्वार देख्न सकिन्छ । काठको अनुपम कलायुक्त यो बुट्टेदार झलरभित्र पसेपछि फराकिलो चौडा कक्ष अाउँछ, यही नै गद्दी बैठक हो । 

दाहिनेपट्टी झ्यालबाट बसन्तपुर डबली देख्न सकिन्छ । त्यस्तै बाँयातर्फ भित्तामा  पृथ्वीनारायण शाहदेखि अन्तिम शाह राजा ज्ञानेन्द्र सम्मका पूर्णकदका तस्वीर सजाइएका छन् । पश्चिमतर्फ बाहिर अग्लो बारदली छ, यहीँबाट राष्ट्राध्यक्षहरुले इन्द्रजात्रामा कुमारीको दर्शन गर्ने प्रचलन छ । राजदरबार नारायणहिटी सर्नुअघि राजाले उच्च पदस्थ अधिकारी तथा राजदुतसँग भेट्ने कारण यो विशेष साजसज्जायुक्त थियो । त्यसैलाइ हुबहु उतार्ने क्रममा पुरानो मैनबत्ति बाल्ने झलर र ठूला झुमरले बैठकको सोभा बढाएको छ । इन्द्रजात्रा लगायत वसन्तपुर क्षेत्रमा मनाइने जात्राहरुमा राष्ट्राध्यक्ष तथा विशिष्ट व्यक्तिले अवलोकन गर्ने गद्दी बैठक यस्तै सांस्कृतिक समारोहमा मात्र प्रयोगमा ल्याउने गरिएको छ । यत्तिकै राख्नुको सट्टा नियमित प्रयोग गरे मात्र यसको सुरक्षा हुने सुझाब, निर्माण कम्पनी मियामोतो कन्सल्ट्यान्सीले दिएको थियो । तर सरकारसंग यसबारे कुनै योजना छैन । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने ऐतिहासिक  गद्दी बैठकको पुनर्निर्माणले वसन्तपुर क्षेत्रको सौन्दर्य फर्काउन मद्दत गरेकोछ । यसको संरक्षण र नियमित प्रयोगमा ध्यान नदिने हो भने फेरि खण्डहरमै परिणत हुन सक्छ ।