कायम मुकायम प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस

जेष्ठ ३०, २०७५

संबैधानिक परिषद्ले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको परिषद्को पहिलो बैठकले कायम मुकायम प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

न्यायपरिषद्ले संवैधानिक परिषदमा जोशी सहित न्यायाधीशहरु ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम पठाएको थियो । गोपाल पराजुलीका पालामा बिग्रेको न्यायपालिकाको साख सुधार्नु जोशीको प्रमुख चुनौती हुने छ ।

मुलुकको २८ ‌औं प्रधानन्यायाधीका रूपमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशी सिफारिस भएपछि न्यायिक नेतृत्वबारे करिब तीन महिना लामो अन्योल सकिएको छ । जोशी प्रधानन्यायाधीश हुने पक्कापक्की भए पनि नियुक्तिको बाटो अझै व्यवधानरहित भने छैन ।

हाल कायम मुकायमका हैसियतले न्यायिक नेतृत्व सम्हालिरहेका जोशी पूर्ण रूपमा जिम्मेवारी सम्हाल्न भने अझै संसदीय सुनुवाइको महत्वपूर्ण खुड्किलो पार गर्नुपर्नेछ । राष्ट्रिय सभा र संघीय संसदको संयुक्त नियमावली नबनिसकेकाले संसदीय सुनुवाइ समिति निर्माण पनि भएको छैन । संसदीय सुनुवाइबाट अनुमोदित भएपछि मात्र उनी राष्ट्रपतिबाट नियुक्ति पाउनेछन् ।

यसअघि २०७१ सालमा पुनरावेदन अदालतका न्यायाधीशबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्दा निकै विवाद र आलोचना सामना गरेका जोशी सर्वोच्चमा पनि विवादरहित भने रहन सकेनन् । तर गोपाल पराजुलीका पालामा बिग्रेको न्यायपालिकाको साख सुधार्ने प्रमुख दायित्व उनैमाथि छ ।

दबाब र प्रभावमुक्त रहेर दुइ तिहाइ बहुमतको सरकारका कामको वैधानिकता जाँच गर्दा उनको न्यायिक निर्भीकताको परीक्षा हुनेछ भने सर्वोच्चले लामो समयदेखि हेर्नै छाडेका भ्रष्टाचार मुद्दा ब्यूँताएनन् भने उनको सुशासनप्रतिको प्रतिबद्धतामा प्रश्न उठ्नेछ ।

२०४८ सालमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका उनी संसदीय अनुमोदन प्राप्त गरेमा आगामी असोज २४ सम्म न्यायपालिकाको नेतृत्व गर्नेछन् ।