शेरबहादुर देउवा पछिल्लो समय निरन्तर आलोचित

जेष्ठ २९, २०७५

पाँच दशक लामो राजनीतिक यात्रामा चार पटक मुलुकको कार्यकारी प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापति भएका शेरबहादुर देउवा पछिल्लो समय निरन्तर आलोचित छन् । सुदुरपश्चिचम र कर्णाली क्षेत्रबाट प्रायः सम्मान पाउँदै आएका देउवाले यसपटक गृहजिल्ला डडेल्धुरामा आफ्नै कार्यकर्ताबाट विरोध र नाराबाजीको सामना गर्नुपर्यो । 

२०४६ पछि शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा कुलदेउता जस्तै मानिए ।  भनाइ नै थियो, देउवा भनेकै कांग्रेस र कांग्रेस भनेकै देउवा  । सधैँ जय जयकार सुन्दै आएका देउवाले शनिबार भने  डडेल्धुरामै आफू विरुद्ध नाराबाजी सुन्नु पर्यो ।   

दुइ हजार तीसको दशकमा नेपाल बिद्यार्थी संघको पहिलो निर्वाचित सभापतिपछि २०५२ सालसम्म देउवाको लोकप्रियता निरन्तर उकालो लाग्यो । 

तर पहिलो पटक प्रधानामन्त्री भएपछि संसदलाई विकृत बनाएको आरोप देउवाले खेपे। भन्सार सुविधामा पजेरो दिलाउनेदेखि सरकार टिकाउन सांसदलाई होटलमा थुन्ने र विदेश सयर गराउनेसम्मका आरोप उनीमाथि लागे ।

२०५९ मा राजा ज्ञानेन्द्रसँग मिलेर संसद विघटन गरेपछि प्रधानमन्त्री भइरहन प्रजातन्त्रका विरुद्ध नै लागेको भन्ने आलोचनासम्मै व्यहोरे ।

विगतका कमजोरी सुधार्ने वाचाका साथ कांग्रेस सभापतिमा निर्वाचित  देउवाले सत्तामा गएपछि भने फेरि अलोकप्रियताको पुरानै बाटो समाए । सत्ता स‌‌ंचालनमा  मनपरी शैली अँगाले । प्रहरी प्रमुख नियुक्तिमा हस्तक्षेपदेखि प्रधानन्यायाधीशमाथि महाभियोग प्रकरणले उनको छवि थप धुमिल भयो । यही कारण स्थानीय, प्रदेश र संघीय संसदको चुनाव गराएर सत्ता हस्तान्तरण गर्दासमेत देउवाले त्यसको जस लिन सकेनन्,  न त छवि सुधारको प्रयत्न नै गरे । बरु, गृह जिल्लामै नाराबाजी सहनुपर्ने स्थिति आयो । 

राजनीतिमा नाटकीय परिवर्तन नभए अबको पाँच वर्ष केन्द्र सहित सातवटै प्रदेशमा काँग्रेस प्रतिपक्षमा नै रहनेछ । पारिवारिक र स्वार्थीहरुको घेरा बाहिर निक्लिएर जनताका एजेण्डा स्थापित गर्न नसक्ने हो भने धमिलिएको छविले उनले दाबी गरेजस्तो पार्टी पुरानै अवस्थामा फर्किन सक्ने छैन ।