लूट चलचित्रका निर्माता नक्कली नोट कारोबार आरोपमा पक्राउ

जेष्ठ ३, २०७५

चर्चित लूट चलचित्रका दुइ संस्करण  बनाइसकेका निर्माता माधवराज वाग्ले नक्कली नोट कारोबार आरोपमा पक्राउ परेका छन् । उनले चलचित्र प्रयोजनका लागि बनाएको भने पनि ती नोट बजारमा भेटिएको भन्दै प्रहरीले पक्रेको हो ।

महानगरीय प्रहरी परिसर टेकुमा प्रहरीले हजार हजारका नोटले भरिएको २ कार्टुन नोट निकालेर टेवलमा राख्दा कसैले नक्कली हो भन्ने अनुमान समेत गर्न गह्रो थियो । उस्तै रंग र आकारमा छापिएका केहि नोटमा लेखिएको नक्कली, फिल्म प्रयोजनका लागि भन्ने शब्दले मात्र नक्कली छुट्टिन्थ्यो । 

कमलपोखरी वस्ने २४ बर्षीय महेन्द्र वोगटीले  खाजा खाएको विल तिर्दा नक्कली नोट दिएको भन्दै पसलेले उजुरी गरेका थिए । अनुसन्धानपछि प्रहरीले ललितपुर बस्ने सजित तामाङ र साजन तामाङलाई नक्कली नोट ७ लाख त्रिचालीस हजार सहित पक्राउ गर्यो । उनीहरुकै बयानका आधारमा प्रहरीले निर्माता वाग्लेको कोठामा खानतलासी गर्दा उक्त रकम बरामद गरेको जनाएको छ ।

प्रहरीले बागबजारको नवज्योती प्रिंटिङ प्रेसका सञ्चालक प्रकास सुवेदी र जयभोले बाबा प्रेसका सञ्चालक विकेश नापीतलाई नक्कली नोट छाप्ने डाइसहित पक्राउ गरेको छ । आरोपित वाग्लेले भने नयाँ बनाउन लागेको चलचित्रका लागि नक्कली नोट बनाएको दाबी गरेका छन् । 

आरोपित ६ जनालाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले  अनुमति दिएको छ । अभियुक्तहरुले होटल रेष्टुराँमा तिर्न, जुवा खेल्न र सक्कलीमा मिसाएर बिक्री गर्न प्रयोग गरेको भन्दै खोटा चलन मुद्दामा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।