नयाँ वर्ष २०७५ बाट बिकास र सम्वृद्धिको यात्रा प्रारम्भ हुने जनअपेक्षा

वैशाख २, २०७५

नयाँ बर्षमा स्थिर सरकार र आर्थिक सम्बृद्धि हुने अपेक्षाका साथ नेपालीहरुले नयाँ विहानीको स्वागत गरेका छन् ।  त्यसो त राजनीतिक रुपमा २०७४ साल मुलुकका लागि महत्वपूर्ण बर्ष रह्यो । २०७४ सालमा स्थानीय, प्रदेश र संघीय तीनै तहमा निर्वाचित सरकार बनेका छन् । 

राजनीतिक अस्थिरताको अन्त्य र स्थिर सरकार बनेसँगै नयाँ वर्ष २०७५ बाट बिकास र सम्वृद्धिको यात्रा प्रारम्भ हुने जनअपेक्षा छ ।

अघिल्लो बर्ष सबैजसो पार्टीका नेताले विकास र सम्वृद्धिको मुद्धालाई  प्रमुख एजेण्डा बनाए । सरकार बनाउने र गिराउने राजनीतिक गोल चक्करमा मुलुक अल्झिएकाले काम गर्न नसकिएको दावी नेतृत्वले गर्दै आयो । त्यसैले विगतमा दिइएका आश्वासन अनुसार नयाँ वर्षदेखि काम शूरु भएको हेर्ने चाहना आम जनतामा छ । 

दलहरु आन्दोलन मार्फत जनताका अधिकार स्थापित गर्न सफल भएका छन् । अब भने राजनीतिक व्यवस्थापनसँगै नेतृत्वले विकास र सुशासन तर्फ ध्यान दिनुपर्ने सुझाव  प्राध्यापक लोकराज बरालको छ ।

सुविधाजनक बहुमतको वाम नेतृत्वको सरकारलाई  जनताको मन जित्ने काम गर्नु बाहेक अलमल गर्ने छुट नरहेको अर्का प्राध्यापक अभि सुवेदीको भनाइ छ । 

केन्द्रदेखि, प्रदेश र स्थानीय तहसम्मका निर्वाचित सरकारलाई जनचाहना बमोजिम काम गर्न कुनै अवरोध छैन ।  आवश्यता छ त, साधनश्रोतको अधिकतम परिचालन, दुरगामी नीति, दुरदृष्टि र उच्च मनोवलको ।  निर्वाचित जनप्रतिनिधिले इमान्दारीता पूर्वक काम गरे जनचाहना बमोजिम नँया वर्षमा विकास र सम्वृद्धिको यात्रा तय गर्न सम्भव छ ।