हिमपात भएपछि चिसोले जनजीवन कष्टकर

माघ ११, २०७४

हिमाली र उच्च पहाडी जिल्लामा मौसम बदली भएर पानीसँगै हिमपात भएपछि चिसोले जनजीवन कष्टकर भएको छ ।

जुम्ला सदरमुकाम खलंगामा हिजो विहानदेखि हिमपात भएपछि जनजीवन प्रभावित वनेको छ । पानीसँगै हिउपरेपछि हिउदे बाली सप्रिने आशमा किसान खुसी भएका छन् । जुम्लामा हिमपातसँगै चिसो बढेको छ । हिमपात भएपछि जुम्लामा हवाइ तथा यातायात सेवा प्रभावित बनेको छ । जुम्लाको तापक्रम हिजो माइनस आठ डिग्री सेल्सियस रहेको छ ।

यता, हिमालपारीको जिल्ला मनाङमा पनि  हिमपात भएको छ ।  मनाङको नेस्याङ गाउपालिकाको ङावल, घ्यारु माथिल्लो मनाङ, पिसाङ लगायतका गाउँमा हिमपात भएको  छ ।

मनाङका अधिकाँश भागमा हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित भएको छ । हिउपरेकाले  मनाङमा ठण्डी बढेको छ । ठण्डीका  कारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । लमजुङ सदरमुकाम बेसीशहरदेखि मनाङका लागि छुटेका सवारी साधनसमेत  पानी र हिमपातका कारण समस्यामा परेका छन् ।

पानी र हिमपातका कारण बाटोमा गाडी फसेका छन् । मनाङको हुम्डे विमानस्थलमा १ फिट भन्दा बाक्लो हिउ परेको छ भने सदरमुकाम चामेमा  धेरै हिमपात भएको छ  ।  यता लमजुङमा मौसम बदलीसंगै वर्षा हुँदा चिसो बढेको छ । हिमपात र वर्षाले लमजुङ सदरमुकाम बेसीशहर लगायत जिल्लाका विभिन्न भागमा ठण्डी निकै  बढेको छ । लमजुङका उच्च  हिमाली क्षेत्रमा हिमपात भएको छ ।

यता, उत्तरी गोरखामा पनि हिमपात भएको छ । गोरखाको धार्चे गाउँपालिका लाप्राक, गुम्दा र चुम नुब्री गाउँपालिका सामागाउँ, छेकम्पार , ल्हो र प्रोक लगायतका स्थानमा हिउँ परेको छ । बिहान चार बजेदेखि नै हिउँ परेपछि बढेको चिसोका कारण जनजीवन कष्टकर भएको लाप्राकस्थित मणिकामदेवी माविका शिक्षक भविराज गुरुङ्गले जानकारी दिनुभयो ।

गोरखाका अन्य स्थानहरुमा समेत बिहान पानी परेपछि चिसो बढेको हो । दोलखाको खरिढुंगा सैलुङ र कालिञ्चोक, चेरधुङ लगायत दोलखाको उत्तरी क्षेत्रमा पानीसँगै भएको बाक्लो  हितपातले जनजीवन प्रभावित भएको छ ।

यसैबीच सुदुरपश्चिमका हिमाली र उच्च पहाडी जिल्लामा पनि पानीसँगै हिमपात भएको समाचार प्राप्त भएको छ ।