नगरको फोहोर व्यवस्थापन चुनौतीको विषय बन्दै

पुस ३०, २०७४

नगर व्यवस्थापनसगै नगरको फोहोर व्यवस्थापन देशका ठुला शहरहरुका लागि चुनौतीको विषय बन्दै गएको छ । स्थानीय तह निर्वाचनपछि यसमा सुधार हुने आशा र विश्वास गरिए पनि निर्वाचन सम्पन्न भएको महिनौ बित्दा पनि तराईका अधिकांश शहरहरु झन्झन् फोहोर र अव्यवस्थित छन् ।

वीरगन्जबाट उपेन्द्र ठाकुरको रिपोर्ट ।

नगर भन्ने बित्तिकै शिक्षित र सभ्य नागरिकहरुको बसोबास भएको स्वच्छ, सफा र व्यवस्थित स्थान भन्ने दृष्य आाखा आगाडि आउाछ । तर अहिले देशका प्रमुख  नगरहरुको पहिचान फोहोरै-फोहोरका शहर बनेका छन् । खाल्डाखुल्डी परेको जीर्ण सडक, खुल्ला नाला, अव्यवस्थित फुटपाथ, सडकमा खुल्ला चौपाया छाड्नु, ध्वनि, धुावा र धुलोको प्रदुषण देशका प्रमुख नगरहरुको मुख्य विषेशता नै बनेको छ ।

मुलुकमा देखिएको लामो समयको राजनीतिक संक्रमण र स्थानीय तह जनप्रतिनिधिविहीन हुादा नगरको यस्तो हालत भएको आम नागरिकको बुझाइ थियो । नागरिकको यही बुझाइलाई हतियार बनाएर नगरको प्रमुख पदमा चुनाव लडेकाहरुले परिवर्तनका ठुल्ठला सपना पनि देखाएका थिए । स्थानीय तह निर्वाचनपछि पनि नगरहरुको मुहार झन् दयनीय देखिएको छ । निर्वाचनका बेला मेगा सिटी र स्मार्ट सिटीको सपना देखाउने नेताहरु अहिले नगरको प्रमुख बनिका छन् । तर नगरपालिकाहरुको पहिलो प्राथमिकतामा पर्ने नगरको सरसफाइ र फोहोरको व्यवस्थापन भने उस्तै छ ।

वीरगन्ज महानगरपालिकाको प्रमुख समस्या भनेको अव्यवस्थित शहर र सरसफाइप्रति  जनप्रतिनिधिको ध्यान जान नसक्नु नै हो । पूर्वाञ्चलको विराटनगर महानगरपालिका वषर्ामा हिलाम्य र हिउादमा धुमाम्य हुने समस्याबाट ग्रसित छ । नगरका कुनै स्थानमा सरसफाइ छैन । यस्तै समस्या छ जनकपुर उपमहानगरपालिकामा पनि । नगरका कुनै चोकमा सरसफाइ गरिएको छैन । नेपालगन्ज उपमहानगरपालिकाको अवस्था पनि उस्तै छ । सफा र सुन्दर नगर बनाउने वाचा गरेर निर्वाचित जनप्रतिनिधिले निर्वाचनपछि आफ्ना वाचा पूरा नगर्दा नेपालगन्ज उप-महानगर दिनप्रतिदिन दुर्गन्धित र अव्यवस्थित हँुदै गएको छ ।

उता, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा दैनिक उत्पादन हुने ३० टन फोहोर अहिले डण्डा खोला किनारमा फाल्ने गरिएको छ । अव्यवस्थित तरिकाले फोहोर फालिादा तीव्र शहरीकरण भएको भैरहवा फोहोर र दुर्गन्धित शहर बन्दै गएको छ ।

पाल्पाको तानसेन नगरको अवस्था पनि उस्तै छ । स्थानीय तह पुनर्संरचनापछि पहिलेका अधिकांश गाउाहरु अहिले नगरमा गाभिएका छन् । नगरमा बढेको जनसंख्या, बस्ती र सवारीको चापसागै नगरका सडक र गल्लीहरुको आकार सानो मात्रै भएको छैन, नगरलाई झनै फोहोर र कुरुप बनाइएको छ, यतातिर जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेको छैन ।

यातयातको दृष्टिकोणले देशको केन्द्र पर्ने चितवनको नारायणगढ बजार सफा छैन । बजारलाई स्मार्ट सिटी बनाउने नारा लिएर नगरको कार्यभार सम्हालेका जनप्रतिनिधिलाई सडकको फोहोर व्यवस्थापन गर्न मात्र पनि सकस परेको छ ।

भरतपुर महानगरपालिकाले बजार क्षेत्रको फोहरलाई बिहान उठाएर लैजाने गरेपनि दिनभर निस्किने फोहरलाई निश्चित स्थानमा थुपार्ने व्यवस्था गर्न सकेको छैन । जसका कारण सडक र पेटी फोहर हुने गरेको छ । गुट्खा, चकलेट, बिस्कुटका खोल र फलफूलका बोक्रा आदि संकलनका लागि डस्टबिनहरु नहुँदा पैदलयात्री तथा स्थानीय ब्यापारीले जथाभावी फोहर फाल्ने गरेका छन् । 

त्यस्तै सडकको दुबै किनाराका नालाको सफाई नहुँदा सडक र पेटीमा फोहर पानी जम्मा भई दुर्गन्ध फैलिने गरेको छ । बिग्रिएका नालाको मर्मत नभएका कारण पैदल यात्री दुर्घटनामा समेत पर्ने गरेका छन् ।

महानगरले डम्पिङ साईट बनाउन नसक्दा बजार क्षेत्रबाट निस्कने फोहरलाई नारायणी नदीको किनारमा ब्यवस्थापन गर्ने गरिएको छ । घरबाट निस्कने फोहरलाई पुनःप्रयोग गर्न सम्बन्धित निकायले पहल गर्न सके फोहरको मात्रा कम हुने स्थानीयको बुझाई छ ।