डा. गोविन्द केसीले अनसन तोडे

पुस ३०, २०७४

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको बेथिति अन्त्यको माग गर्दै ५ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले सरकारसँगको पाँच बुँदे सहमतिपछि अनसन तोड्नुभएको छ । 

सहमति कार्यान्वयन भए चिकित्सा र स्वास्थ्य क्षेत्रको सुधारसँगै परिवर्तन आउने अपेक्षा गरिएको छ ।

चिकित्सा शिक्षा अध्यादेश बमोजिम सात दिन भित्र चिकित्सा शिक्षा आयोग गठन गर्ने, चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डाक्टर जगदीश प्रसाद अग्रवाललार्इ नै निरन्तरता दिने, संस्थानको सम्वन्धन, शुल्क निर्धारण लगायतका खोसिएको अधिकार फिर्ता गर्ने लगायत सम्झौता भएका छन् । सरकारले गरेका सम्झौता पूर्ण रुपमा कार्यान्वयन हुने सरकारका तर्फबाट स्वास्थ्य मन्त्री दीपक बोहराले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्झौता कार्यान्वयमा सरकारको इच्छाशक्तिमा भर पर्दछ । डाक्टर केसीसँग भएको सम्झौता कार्यान्वयनमा सरकारलार्इ कुनै अपठ्यारो नभएको चिकित्सा शिक्षा उच्चस्तरीय कार्यदल संयोजक केदारभक्त माथेमाको भनार्इ छ । उहाँले चिकित्सा शिक्षा आयोग गठन लगायत सम्झौता कार्यान्वयन भए मुलुकको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार मात्र होइन आमूल परिवर्तन हुने बताउनुभयो ।

मेडिकल शिक्षा मंहगो भएकै कारण आमनागरिकका छोराछोरीको पहुँचभन्दा पर रहेका छन् । स्वास्थ्य सेवा पनि उस्तै छ । त्यसैले स्वास्थ्य शिक्षा सर्वसुलभ गुणस्तरीयतासँगै आमनागरिक पहुँच पुर्याउन सरकारले सम्झौता कार्यान्वयन गर्नु पर्ने डाक्टर केसीको भनार्इ छ ।

आन्दोलन उत्कर्षमा पुगेको बेला सहमति गर्ने तर कार्यान्वयन नगर्ने सरकारको गलत व्यवहारका कारण डाक्टर केसी पटक पटक अनसन बस्न बाध्य हुनु भएको हो । अव सरकारले समझौता कार्यान्वयनमा इमान्दारीता देखाउन आवश्यक छ ।