समस्या शिक्षक व्यवस्थापनको

पुस २९, २०७४

विद्यालय शिक्षाको माध्यमिकसम्मको शिक्षा स्थानीय तहमा गएसँगै शिक्षक व्यवस्थापनको समस्या पेचिलो बनेको छ । भौतिक पूर्वाधार र विषयगत शिक्षकको सधै अभाव हुने गरेको विद्यालय तहमा अढार्इ दशकदेखि कार्यरत कक्षा ११ र १२ का करिब ३० हजार शिक्षकको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ ।

अहिले देशमा कक्षा १२ सम्म पढाइ हुने सामुदायिक विद्यालयको संख्या करिब ४ हजार छ । शिक्षा ऐन आठौं संशोधनले ती विद्यालयलाई माध्यमिक तह मात्र बनाएको छ । ती सबै विद्यालयमा भौतिक पूर्वाधार र विषयगत शिक्षकको दरबन्दी नै छैन ।  अहिलेसम्म विद्यालयको दरबन्दीमा दुई हजार र अनुदानमा ४ हजार गरी ६ हजार शिक्षक मात्र कार्यरत छन् ।  विद्यालय शिक्षाको आधारभूतदेखि माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहमा गएपछि अढार्इ दशकदेखि कार्यरत कक्षा ११ र १२ का करिब ३० हजार शिक्षकको व्यवस्थापन समस्याका रुपमा देखिएको छ । 

शिक्षक व्यवस्थापनमा कुनै पनि निकायले चासो देखाएको छैन । स्थानीय निकायसँग सम्वन्वयमा शिक्षा कार्यालयले शिक्षक व्यवस्थापन गर्ने भनेपनि त्यसो हुन सकिरहेको छैन । 

विभिन्न राजनीतिक दलका नेताहरुले भने खस्किदै गएको सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न र शिक्षक व्यवस्थापनका लागि स्थानीयतह, प्रदेश र केन्द्रले समयमै समस्या समाधान गर्नुपर्ने विचार व्यक्त गरेका छन् । 

सामुदायिक विद्यालयमा सिकार्इ उपलव्धि बढाउन स्थानीयतह, प्रदेश  र  केन्द्रबाट ठोस कार्ययोजना ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।