प्रदेश प्रमुख तथा अस्थायी केन्द्र राजनीतिक सहमतिपछि मात्रै

पुस २९, २०७४

सरकार राजनीतिक दलहरुबीच सहमति नभएसम्म प्रदेश प्रमुख तथा अस्थायी केन्द्र नतोक्ने निष्कर्षमा पुगेको छ ।

दुरगामी महत्व राख्ने बिषयमा एकलौटी निर्णय नगर्ने भन्दै हिजो  बसेको मन्त्री परिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्नेबारे छलफल समेत गरेन् । प्रधानमन्त्री कार्यालयले बैठकबाट प्रमुख र केन्द्र तोकिने बताएको थियो ।  

प्रदेशको प्रमुख तोक्दा सबै दलहरुको समझदारी हुनुपर्ने भन्दै थप छलफल गर्ने सरकारको तयारी छ । 

तर नेकपा एमालेका नेताहरुले भने प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारको काम भएको भन्दै कांग्रेस सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाएको छ । दलीय सहमतिमा निर्णय गर्ने भन्ने तर अग्रसरता पनि नदेखाउने प्रवृति सत्ता नछाड्ने रणनीति मात्रै भएको एमालेको दावी  छ । 

प्रदेश प्रमुखको नियुक्ति नभएकै कारण निर्वाचन आयोगले  प्रदेशसभाको समानुपातिक परिणाम सार्वजनिक गर्न सकेको छैन् । आयोगले  सरकारले छिटो प्रदेशको अस्थायी केन्द्र र  प्रमुखको नियुक्ति गर्न आग्रह गर्दै आएको छ ।  

राष्ट्रियसभा चुनावका लागि पनि प्रदेशको अस्थायी राजधानी तोक्दा सहज हुने आयोगको भनाई छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने विषयमा सहमति खोज्ने प्रयास भैरहेको  वताउनुभएको छ ।

धनगढी विमानस्थलमा पत्रकारहरुसंग हिजो कुरा गर्नुहुँदै प्रधानमन्त्री देउवाले सरकारले फेरि पनि सहमतिको प्रयास गर्ने र हुन नसके छिट्टै निर्णयमा पुग्ने वताउनुभयो । 

उहाँले राष्ट्रियसभाको चुनाव गराउनुपर्ने वाध्यात्मक परिस्थितीका कारण सरकार छोडन ढिलाइ भएको भन्दै निर्वाचन लगत्तै सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको वताउनुभयो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आज  हुने दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा हिजो धनगढी हुदै महेन्द्रनगर पुग्नु भएको हो । उहाँ आइतबार राजधानी फर्किने कार्यक्रम रहेको छ ।