शितलहरका कारण मर्नेको स‌ख्या ११ पुग्यो

पुस २८, २०७४

चिसो र शितलहरका कारण मर्नेको स‌ख्या ११ पुगेको छ । गृह मन्त्रालयका अनुसार केहीदिन यताको शितलहर र चिसोले बिभिन्न जिल्लामा मर्नेको संख्या ११ पुगेको हो ।

शीतलहर र चिसो हावाले तराई क्षेत्रको  जनजीवन प्रभावित भएको हुँदै आएको छ ।  रौतहट, बारा, पर्सा, धनुषा, महोत्तरी, सर्लाही, नवलपरासी, रुपन्देही, कपिलबस्तु, बाँके, बर्दिया, कैलाली र  कञ्चनपुरको  जनजीवन शीतलहर र चिसो सिरेटोले प्रभावित भएको हो । 

शीतलहरबाट जोगाउन सप्तरीमा स्थानीय प्रशासनले विभिन्न संघ-संस्थाहरुको समन्वयमा गरिब, विपन्न तथा असहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । सप्तरीमा हालसम्म १० हजार पाँच  सय कम्बल वितरण भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले जानकारी दिनुभयो । उहाँले उपलब्ध भएसम्म विभिन्न ठाउँमा आगो ताप्न दाउरासमेत वितरण गरिएको  जानकारी दिनुभयो ।  यसैबीच बाढीप्रभावित सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका एक सय ५५ मुसहर र चमार परिवारलाई शीतलहरबाट जोगिन धुर्मुस सुन्तली फाउण्डेशनले ब्ल्याङ्केट वितरण गरेको  छ ।

उता, राप्ती नदीमा आएको बाढीले घर खेत बगाएपछि बिचल्ली अवस्थामा जंगलमा आश्रय लिँदै आाएका बाँके फत्तेपुरका एक सय ९० घर परिवारलाई जाडोमा राहत स्वरुप  ओढ्ने, ओछ्याउने,  न्यानो कपडासहित प्रतिपरिवार पाँच हजार रुपैयाँ  वितरण गरिएको छ ।   

राप्ती सोनारी गाउँपालिका  वडा नम्बर ६ र ७ का बाढीपीडित परिवारलाई केही गैरसरकारी संस्थाहरुले न्यानो कपडा वितरण गरेका छन् ।

शीतलहर र चिसो बढ्दै गएपछि बर्दियाका सामुदायिक विद्यालय आठ दिनका लागि बन्द गरिएको छ ।