प्रधानन्यायाधीशमाथि नै नैतिक प्रश्न !

पुस २८, २०७४

सर्वोच्च अदालतको आदेशपछि साधारण तारेखमा रिहा हुनुभएका डाक्टर गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म अनसन जारी रहने बताउनु भएको छ ।

अदालतको अवहेलना सम्बन्धि मुद्धामा साधारण तारेखमा रिहा भएलगत्तै डाक्टर केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनलाई निरन्तरता दिइरहनुभएको छ । केसीले अदालतको फैसला सकारात्मक रहेको भन्दै आफ्ना अन्य माग पनि पूरा नभएसम्म अनसन जारी रहने बताउनु भएको छ । केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता तथा शैक्षिक प्रमाणपत्र लगायत विषयमा समेत निष्पक्ष छानविन हुनुपर्नै अडान राख्नुभएको छ । 

सर्वोच्च अदालतको अवहेलना मुद्दामा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताका प्रतिलिपी, न्याय परिषदबाट उहाँको उमेरका सम्वन्धमा भएका निर्णय र शैक्षिक प्रमाणपत्रका प्रतिलिपी समेत झिकाउन  आदेश दिएको छ। त्यसै गरी डाक्टर शशी शर्माको मुद्दामा पुष २३ गते भएको फैसलाको मिसिल समेत झिकाउन आदेश दिइएको छ । अनसनरत केसीले अदालतको छानबिनमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा, तत्काल चिकित्सा शिक्षा आयोग गठनसहितका अन्य पाँच बुँदे माग राख्दै आउनुभएको छ ।

प्राध्यापक डाक्टर गोविन्द केसी माथि लागेको अदालतको अवहेलना मुद्धाको सुनवाइ गर्दै सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीकै शैक्षिक प्रमाणपत्र र नागरिकताका प्रतिलिपि झिकाउने आदेश दिएपछि उहाँमाथि नैतिक प्रश्न उठेको छ । 

आगामी इजलासमा बहससँगै प्रधानन्याधीशका कागजात पेश हुनुपर्ने भएकोले आफ्नै मुद्दाको किनारा नलाग्दासम्म उहाँ न्याय सम्पादनमा सक्रिय हुन उपयुक्त नहुने जानकारहरु बताउँछन् ।

साधारण तारेखमा रिहा हुनुभएका डाक्टर गोविन्द केसीले आगामी फागुन ८ गतेका लागि तारेख बुझ्नुभएको छ । त्यो दिन मुद्दामाथि बहससँगै अदालतको आदेश बमोजिम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र पनि पेश हुनेछन् । 

सर्वोच्च अदालतकै पुर्व न्यायाधीश बलराम केसी यस्तो अवस्थामा प्रधानन्यायाधीश आफैले सोच्चुपर्ने र समिति बनाएर छानविनमा सघाउनु उपयुक्त हुने बताउनुहुन्छ ।

प्रधानन्याधीशमाथि उठेका विषयमा अदालतले आन्तरिक छानविन गरि अघि बढ्नु उपयुक्त भएपनि सार्वजनिक रुपमै कागजात झिकाउने आदेश भएको अवस्थामा प्रधानन्यायाधीश पराजुली कार्यसम्पादनमा सक्रिय नहुने र केही समय विदामा बस्नु ठिक हुने पुर्वन्यायाधीश केसीको भनाई छ । 

गोविन्द केसीले फागुन ८ गतेको तारिख बुझ्नुभएकोले त्यो समयसम्म प्रधानन्यायाधीश माथि डाक्टर केसीले प्रश्न उठाएका कागजपत्र जम्मा गर्ने काम हुने छ । अदालतबाट आफ्नै विषयमा छानविन गर्ने प्रकृतिको आदेश आएपछि सर्वोच्च अदालत तथा न्यायपरिषद्का नेतृत्वकर्ता प्रधानन्यायाधीश पराजुलीले के गर्नुहुन्छ भन्नेमा धेरैको चासो छ ।