शृंखलावद्ध हत्याक्रम बढ्दै, प्रहरी संयन्त्रको कारवाही कमजोर

पुस २८, २०७४

अपराधिक समुहले मुलुकबाहिर योजना बनाउने र नेपालमा शृंखलावद्ध  हत्या गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । तर प्रहरी अनुसन्धान अन्तरदेशीय अपराधको सञ्जालसम्म पुग्न सकेको छैन् ।

रुपन्देहीमा एकसाता अघि व्यवसायी बसन्त पौडेलको दिउँसै गोलीहानी हत्या भयो । त्यही ठाँउमा एक बर्षअघि पुस ३ गते युवा स‌ंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको पनि हत्या भएको थियो । गत असोजमा काठमाडौंको शान्तिनगरमा निर्माण ब्यवसायी महास‌‌ंघका अध्यक्ष शरद गौचनको समेत गाडीभित्रै गोलीहानी हत्या गरियो । यी तिनवटै हत्याकाण्डको जिम्मेवारी मनोज पुनको समुहले लियो ।

प्रहरी अनुसन्धानले पनि मनोज पुनको समुहकै संलग्नता रहेको देखाएको छ । सवै हत्याकाण्डको योजना देश बाहिरै बनेका हुन्। तर प्रहरी मुख्य योजनाकार सम्म पुग्न सकेको छैन । नत पुन कुन मुलुकमा छन् भन्ने समेत प्रहरीले पत्तो पाउँन सकेको छैन् ।

गौचन हत्या काण्डमा मुख्य योजनाकार भनिएका  समिरमान बस्नेतलाई सीआइबीले पक्राउ गरेको छ ।  तर प्रहरी प्रधान कार्यालयले बनाएको अनुसन्धान टोलीले मनोज पुनलाई पनि योजनाकार भनेको छ । एउटै घटनामा प्रहरीले नै फरक टोली बनाएर अनुसन्धान गर्ने र फरक नतिजा निकाल्ने प्रवृतिले मुख्य अपराधी पक्राउ पर्न नसकेको प्रहरीकै पुर्व अधिकारीहरु बताउँछन ।

अन्तर्देशीय अपराध संजालले फिरौतीकै लागि नेपालभित्र उद्दमी ब्यवसायीको हत्या गर्ने र थप त्रास फैलाउने काम गरिरहँदा प्रहरी संयन्त्रको कारवाही भने कमजोर देखिएको छ ।