केपी शर्मा ओलीद्वारा सरकारको आलोचना

पुस २७, २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी नतोकेर सत्ता लम्व्याउने काम गरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि हिजो थाइल्याण्डको बैंकक जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले सरकारले अनेक बाहानामा जनमत वमोजिम सत्ता हस्तान्तरणमा ढिलाइ गरिरहेको  जिकिर गर्नुभयो । उहाँले सरकार र निर्वाचन आयोगले षडयन्त्र गरेर र जनमतको अवमूल्यन गरिरहेको आरोप समेत लगाउनुभयो ।

एमाले र माओवादी एकता भाँड्न अदृश्य शक्तिहरु लागेको भन्दै ओलीले छिट्टै दुई पार्टी एकीकरण हुने दावी गर्नुभयो । 

दुवै मृगौला प्रत्यारोपण गराउनुभएका अध्यक्ष ओली नियमित जाँच गर्न एकसाताका लागि हिजो बैंकक तर्फ जानुभएको हो । उहाँ माघ २ गते स्वदेश फर्कनुहुने छ ।