पोखरा ट्याक्सी व्यवसायी समिति आन्दोलनमा

पुस २७, २०७४

मिटरमा ट्याक्सी नचलाएको भन्दै कास्की प्रहरीले हिजो १८ वटा ट्याक्सी नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा कारवाहीका लागि पठाएपछि पोखरा ट्याक्सी व्यवसायी समिति आन्दोलनमा उत्रिएको छ । व्यवसायीले पोखराका मुख्य चोकहरुमा ट्याक्सी राखेर छेकेपछि हिजो पाँच घण्टा पर्यटक बसदेखि एम्बुलेन्ससम्म चल्न पाएनन् ।

मिटरमा ट्याक्सी नचलाउने भन्दै पोखरा ट्याक्सी व्यवसायी समितिमा आबद्ध ट्याक्सीहरु चिप्लेढुङ्गा, पृथ्वीचोक, सृनाचोक लगायतका मुख्य चोकहरुमा सडक छेकेर बसेपछि  आज ५ घण्टासम्म पोखराको यातयात ठप्प बन्यो । स्कुलबस, नगरबस, पर्यटकबस एम्बुलेन्स, लगायत लामो दुरीका बससमेत रोकिए । पोखराको आवतजावत नै ठप्प बनेपछि कास्की प्रहरी प्रमुख अशोक सिंह डोजर नै लिएर सडकमा पुगेपछि व्यवसायीले ट्याक्सी हटाएका थिए ।

बेला बेलामा यातयात ब्यवसायीको सिन्डीकेटको मार खेप्दै आएका पोखराबासीले ट्याक्सी ब्यवसायीको आन्दोलनले थप हैरानी व्यहोर्नु परेको भन्दै बिरोध गरेका छन् । पर्यटकीय क्षेत्रमा हुने यस्ता गतिविधिले नकारात्मक असर पर्ने भन्दै प्रशासनलाई दिर्घकालीन रुपमै समस्या सुल्झाउन नगरिक समाजले आग्रह गरेको छ ।

तोकिए भन्दा बढी भाडा लिएर उपभोक्ता ठगिएको गुनासो आएपछि कास्की प्रशासनले १८ जना ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाएको छ ।

प्रशासनले आन्दोलनमा उत्रिएका १६ जनालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्ददा चलाएको छ । मिटरमा ट्याक्सी नचलाउने  र सडकमा अवरोध पुर्याउने सबैलाई कारबाहीको दायरामा ल्याउने कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताउनुभयो ।

पोखरा ट्याक्सी व्यवसायी समितिमा दुई हजार दुईसय भन्दा वढी ट्याक्सी दर्ता छन् । समितिले भाडा समायोजन नगरी मिटरमा  ट्याक्सी चलाउन नसकिने बताएको छ । कास्की प्रशासनले भने निरन्तर अनुगमन गर्ने र मिटरमा नचलाएका ट्याक्सीलाई कारबाही गर्ने जनाएको छ ।