दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल अन्तरिम जमानतमा रिहा

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल अन्तरिम जमानतमा रिहा

काठमाडौं । भारतको सर्वोच्च अदालतले मदिरा नीति घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पक्षमा फैसला सुनाएको छ । सर्वोच्च अदालतले आज अन्तरिम जमानत याचिकामा फैसाला सुनाउँदै उनलाई १ जुनसम्मका लागि राहत दिएको छ । 

आज न्यायाधीश सञ्जीव खन्ना र दिपङ्कर दत्तको इजलासले मुद्दाको सुननुवाई गर्दै मुख्यमन्त्री केजरीवालको पक्षमा फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २ जुनमा उनलाई आत्मसमर्पण गर्न समेत भनेको छ । केजरीवाल रिहा भएसँगै उनलाई दिल्लीको सरकारी कामकाजमा कुनै हेरफेर नगर्न समेत सर्वोच्चले आदेश दिएको छ ।

उनलाई २१ मार्चमा प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा नीति घोटालामा पक्राउ गरेको थियो । विहीबार ईडीले अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित सम्पत्ती शुद्धीकरण मुद्दामा केजरीवालको अन्तरिम जमानतको मुद्दामा एक प्रतिज्ञा पत्रमार्फत चुनावमा प्रचारप्रसार गर्नु मौलिक हक र संवैधानिक अधिकार दुवै नभएको भन्दै सर्वोच्चमा विरोध दर्ता गराएको थियो । उक्त पत्रमाथि केजरीवालका वकिलले आपत्ति जनाएका थिए । 

केजरीवाल रिहा भएसँगै आम आदमी पार्टी र उनका कार्यकर्ताका लागि निकै राहत पुगेको छ । उनले अब भारतमा जारी लोकसभा चुनावमा प्रचारप्रसार समेत गर्न पाउनेछन् । दिल्लीमा २५ मेमा लोकसभा चुनाव हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.