काठमाडौं । ब्रिटिस–स्विडिस बहुराष्ट्रिय औषधि निर्माता कम्पनी एस्ट्राजेनेकामाथि कोरोना खोपलाई लिएर गम्भीर 'साइड इफेक्ट'को आरोप लागेपछि कम्पनीले सबै खोप बजारबाट फिर्ता लिइरहेको छ । कम्पनीले टेलिग्राफमार्फत् हिजो विश्वव्यापी रूपमा खोप फिर्ता लिइरहेको जनाएको हो ।
यसमा भारतमा बनेको कोभिशिल्ड खोप पनि समावेश छ । काभिशिल्डलाई भने व्यावसायिक कारणले बजारबाट हटाउन लागेको कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीले आफूले बनाएको कोरोना खोपले रगत जम्नेजस्ता गम्भीर साइड इफेक्ट निम्त्याउन सक्ने स्वीकार गरिसकेको छ । खोपले साइड इफेक्ट निम्त्यिाएपछि कम्पनीले उक्त निर्णय गरेको बताइएको छ ।
एस्ट्राजेनेकाले उत्पादन गरेको कोरोना खोप लगाउने व्यक्तिहरुमा ‘टीटीएस–थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम’ पाइएपछि यसको चौतर्फी आलोचना भएको थियो । उक्त खोप लगाएका बिरामीको रगत जम्ने र प्लेटलेट काउन्ट कम भएको भेटिएपछि खोपको विषय अदालतसम्म पुगेको थियो । फेब्रुअरीमा अदालती कारबाहीका क्रममा कम्पनीले खोप लगाएपछि टीटीएस हुने सम्भावना रहेको स्वीकार गरेको थियो ।
टीटीएसका कारण बेलायतमा कम्तीमा ८१ जनाको मृत्यु भएको छ । कम्पनीले मृतकका ५० भन्दा बढी आफन्तले दायर गरेको मुद्दाको सामना गरिरहेको छ । भारतका केही बिरामीले कम्पनीविरुद्ध मुद्दा दायर गरेको कम्पनीको स्वीकारोक्ति छ । महामारीका बेला खोपले सम्पूर्ण परीक्षण गरेपछि बेलायत लगायत थुप्रै मुलुकमा कोरोनाबाट बच्न खोप आपूर्ति गरिएको थियो ।
भारतमा बनेको कोभिशिल्ड खोप नेपालमा पनि प्रयोग भएको थियो ।