गाजाको रफाह सहरको पूर्वी क्षेत्र खाली गर्न इजरायली सेनाको आदेश

पलायन हुने प्यालेस्टिनीलाई खान युनिस र अल मवासी सहरतर्फ पठाउने तयारी
वैशाख २४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजाको रफाह सहरको पूर्वी क्षेत्र खाली गर्न इजरायली सेनाको आदेश

काठमाडौं । इजरायली सेनाले गाजाको रफाह सहरको पूर्वी क्षेत्रका बासिन्दालाई तत्काल सो क्षेत्र खाली गर्न आदेश दिएको छ ।

इजरायली सेनाले विमानमार्फत रातो र नीलो रङका पर्चा छरेर कारबाही सुरु हुनुअघि नै त्यस क्षेत्र छाड्न आदेश दिएको हो । इजरायली रक्षामन्त्रीले गाजामा रहेका आफ्ना सेनालाई निकट भविष्यमै रफाह सहरमा तीव्र कारबाहीको तयारी गर्न भनेको दोस्रो दिन नै सेनाले त्यहाँका नागरिकलाई अन्यत्र जान भनेको हो ।

सेनाको यो आदेशले पूर्वी रफाहका करिब एक लाख बासिन्दा अन्यत्र जानुपर्नेछ । यहाँबाट पलायन हुने प्यालेस्टिनीलाई नजिकै रहेका खान युनिस र अल मवासी सहरतर्फ पठाइने इजरायली सेनाले जनाएको छ । इजरायलले धेरै अघिदेखि नै रफाहमा स्थल सैन्य आक्रमण गर्ने योजना बनाउँदै आएको थियो । यद्यपि संयुक्त राष्ट्रसंघ र अमेरिकालगायत साझेदार देशले आक्रमण नगर्न चेतावनी दिँदै आएका छन् । रफाह सहरमा करिब १५ लाख प्यालेस्टिनीले शरण लिइरहेको बताइएको छ ।

हिजो मात्रै हमासले केरेम सालोम सीमानाकानजिकै गरेको रकेट आक्रमणमा तीन इजरायली सैनिक मारिएका थिए । त्यसको प्रतिकारमा इजरायलले सीमानाका नै बन्द गरिदिएको छ । यसअघि इजरायलले यो नाकामार्फत गाजामा सहायता सामग्रीका ट्रक प्रवेश गर्न दिँदै आएको थियो ।

उता इजरायली सेनाले गएराति रफाहमा गरेको हवाई आक्रमणमा आठ बालबालिकासहित २२ जनाको मृत्यु भएको छ । उता गाजा संघर्षविरामका लागि कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा हमास र इजरायलबीच कायरोमा जारी अप्रत्यक्ष वार्तामा कुनै ब्रेक थ्रु हुने सम्भावना न्यून देखिएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।