इजरायलमा अलजजिरामाथि प्रतिबन्ध

वैशाख २३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायलमा अलजजिरामाथि प्रतिबन्ध

काठमाडौं । इजरायल सरकारले गाजायुद्धको समाचार सम्प्रेषण गरेको विषयलाई लिएर आफ्नो देशमा अल जजिरा न्युज च्यानलको सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वसम्मतिले इजरायलमा अल जजिरा न्युज च्यानल र यसको समाचार संकलन सम्पूर्ण गतिविधि बन्द गराउने निर्णय गरेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सामाजिक सञ्जाल एक्समा आफ्नो सरकारले भड्काउवादी च्यानल अलजजिरा बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

यस्तै इजरायली सञ्चारमन्त्री श्लोमो कार्चीले पनि एक्समा पोस्ट गर्दै आफूले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेको र यो निर्णय तत्काल लागु हुने जानकारी गराएका छन् । सरकारले इजरायलमा अल जजिराको अंग्रेजी र अरबी भाषाको प्रसारण बन्द गराउनुका साथै त्यहाँ रहेको अलजजिराको कार्यालयसमेत बन्द गर्न आदेश दिएको छ ।

यसैगरी सरकारले इजरायलमा रहेको अलजजिराको कार्यालयले प्रयोग गर्दै आएको क्यामरा, माइक्रोफोन, सर्भर, ल्यापटपका साथै सम्पादन र प्रसारण उपकरणहरु जफत गर्ने आदेश दिएको जनाइएको छ ।

अलजजिराले प्रसारण गर्ने गरेको गाजा युद्धसम्बन्धी समाचारलाई लिएर इजरायल सरकार र अलजजिराबीच लामो समयदेखि विवाद चल्दै आएको थियो ।

इजरायल सरकारले अलजजिरामाथि हमाससँग साँठगाँठ गरेको र आफूप्रति पूर्वाग्रही रहेको आरोप लगाउँदै आएको थियो ।

कतार सरकारको समेत लगानी रहेको अलजजिरा च्यानल बन्द गर्ने निर्णयले इजरायल सरकार र कतार सरकारबीच पनि तनाव उत्पन्न हुन सक्ने अनुमान गरिएको छ । गाजायुद्ध सुरु भएयता कतारले हमास र इजरायलबीच मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ ।

अहिले पनि इजिप्टको राजधानी कायरोमा कतार र अमेरिकाको मध्यस्थतामा दुई पक्षबीच अप्रत्यक्ष वार्ता भइरहेको छ ।

करिब सात महिना लामो गाजा युद्धका क्रममा गाजाभित्रै रहेर युद्धको जोखिमपूर्ण समाचार संकलन गर्ने केही सीमित अन्तर्राष्ट्रिय समाचारमाध्यममध्ये अलजजिरा एक प्रमुख न्युज च्यानल हो । यसले पश्चिमा समाचारमाध्यमभन्दा फरक दृष्टिकोणले त्यहाँको समाचार सम्प्रेषण गर्दै आएको छ ।