ब्राजिलमा बाढी-पहिरो : २९ जनाको मृत्यु, ६० बेपत्ता

वैशाख २१, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
ब्राजिलमा बाढी-पहिरो : २९ जनाको मृत्यु, ६० बेपत्ता

काठमाडौं । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा सोमबारबाट सुरु भएको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परेर २९ जनाको मृत्यु भएको छ । ६० जना बेपत्ता भएका छन् ।

लगातारको वर्षाका कारण त्यहाँका करिब १५० नगरपलिकामा क्षति पुगेको छ । उक्त क्षेत्रमा बसोबास गर्ने करिब १० हजार मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् । सोही विषयलाई मध्यनजर गर्दै बिहीबार राज्य सरकारले प्रकृतिक विपत्तिलाई सम्हाल्न आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

बिहीबार भारी वर्षाले उक्त राज्यको जलविद्युत् पावर प्लान्टमा क्षति पुर्याएसँगै त्यहाँ रहेका करिब तीन लाख मानिस अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिलोपटक ब्राजिलको इतिहासमा यस वर्ष आएको भारी वर्षाले संकट निम्त्याएको सो राज्यका गभर्नरले आफ्नो सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भने उक्त क्षेत्रमा उद्धारका लागि आवश्यक पहल केन्द्र सरकारलाई सुझाएको बताए । उद्धारका लागि सक्दो र प्रभावकारी सहयोग गर्ने आश्वासनसमेत दिएका छन् । मौसम विभागका अनुसार वर्षा भने उक्त राज्यमा जारी रहने भन्दै सचेत हुन आग्रह गरिएको छ ।