रुसले युक्रेनसँगको युद्धमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग गर्‍यो : अमेरिका

रासायनिक हतियारविरुद्धको महासन्धि उल्लंघन भएको छैन : क्रेमलिन
वैशाख २१, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
रुसले युक्रेनसँगको युद्धमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग गर्‍यो : अमेरिका

काठमाडौं । अमेरिकाले रुसले युक्रेनसँगको युद्धमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै रासायनिक हतियार प्रयोग गरिरहेको आरोप लगाएको छ ।

पहिलो विश्वयुद्धमा प्रयोग गरिएको घातक रासायनिक हतियार ‘क्लोरोप्रिक्रिन’ अहिले रुसले युक्रेनमाथि प्रयोग गरेको अमेरिकाको आरोप छ । रुसले रासायनिक हतियारविरुद्धको महासन्धिमा हस्ताक्षर गरे पनि पालना नगरिरहेको अमेरिकाको भनाइ छ । युक्रनेसँगको युद्धमा जित हासिल गर्न र फ्रन्टलाइनका सैनिकलाई हटाउन रुसले ‘क्लोरोप्रिक्रिन’ प्रयोग गरिरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

रोयटर्सले यस वर्षको सुरुमा रुसी सेनाले अश्रु ग्यासले भरिएको ग्रेनेड प्रयोग गरेको रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त रिपोर्टमा पाँच सय युक्रेनी सैनिकहरू विषाक्त ग्यासको सम्पर्कमा आएका कारण गम्भीर बिरामी परेको र एकजनाको मृत्यु भएको उल्लेख गरिएको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडनले रुसलाई उक्त हतियार प्रयोग गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

उता, रुसले भने अमेरिकाले लगाएको आरोप निराधार र तथ्यहीन रहेको जनाएको छ । आफूले रासायनिक हतियारविरुद्धको महासन्धिको उल्लंघन नगरेको दाबी क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘क्लोरोप्रिक्रिन’ रसायनले फोक्सो, आँखा तथा छालामा जलन निम्त्याउने र निसास्सिएर मृत्यु हुने भएकाले युद्धमा यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।