बन्द हुँदै डन्डी उद्योग, व्यवसायी भन्छन्- कच्चा पदार्थमा भन्सार महसुल चर्को भयो

वैशाख २८, २०८१ |उपेन्द्र ठाकुर
बन्द हुँदै डन्डी उद्योग, व्यवसायी भन्छन्- कच्चा पदार्थमा भन्सार महसुल चर्को भयो

वीरगन्ज । नेपालका फलामे डन्डी उत्पादन गर्ने उद्योगले पैठारी गर्ने कच्चा पदार्थको भन्सार महसुलमा सरकारले विभेदको नीति अपनाउँदा डन्डी उत्पादन गर्ने अधिकांश उद्योग प्रभावित भएका छन् ।

कच्चा पदार्थका रुपमा प्रयोग गरिने स्पन्ज आइरनमा १ प्रतिशत र बिलेटमा ५ प्रतिशत भन्सार महसुल लगाउँदा बिलेट आयात गरी डन्डी उत्पादन गर्ने उद्योगहरु प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुगेका हुन् ।

भारतबाट फलामको बिलेट आयात गरी त्यसबाट डन्डी उत्पादन गर्दै आएको बाराको यो शाःख स्टिल विगत दुई वर्षदेखि बन्द छ । यो उद्योगमा स्थायी र दैनिक ज्यालादारीका गरी करिब दुई सय ५० कामदा काम गर्थे । वार्षिक ३५ हजार टन डन्डी उत्पादन गर्ने यो उद्योगले विद्युत् महसुल र राजस्वमा मात्रै वार्षिक झन्डै ५० करोड रुपैयाँभन्दा बढी सरकारलाई बुझाउँथ्यो ।

उद्योग बन्द हुँदा उद्योगीको लगानीसँगै मजदुरको रोजीरोटी र सरकारले प्राप्त गर्ने राजस्व सबै ठप्प भएको छ । उद्योगहरुले आयात गर्ने कच्चा पदार्थ स्पन्ज आइरन र बिलेटको राजस्वमा सरकारले लिएको विभेदकारी नीतिका कारण यो उद्योग बन्द भएको शाख स्टिल उद्योग बाराका कारखाना प्रबन्धक राजु तिमिल्सिनाले बताउनुभयो ।

नेपालमा फलामे डन्डी उत्पादन गर्ने ३१ वटा उद्योग छन् । जसमध्ये शाःख स्टिलजस्ता २४ वटा उद्योगले प्राइम बिलेटबाट डन्डी उत्पादन गर्दै आएका छन् भने जगदम्बा र अशोक स्टिलजस्ता सातवटा उद्योगले भट्टीमा स्क्रेप गलाएर त्यसमा स्पन्ज आइरन मिसाएर डन्डी उत्पादन गर्ने गरेका छन् । स्क्रेप गलाएर उत्पादन गरिने डन्डी प्राइम बिलेटबाट उत्पादितको तुलनामा कमजोर मानिन्छ ।

तर जनार्दन शर्मा अर्थमन्त्री भएका बेला स्वदेशी कच्चा पदार्थको प्रयोग गर्ने उद्योगको प्रवर्द्धन गर्ने भन्दै बिलेटको पैठारीमा पाँच प्रतिशत भन्सार महसुल र प्रतिटन दुई हजार पाँच सय रुपैयाँ अन्तःशुल्क लगाएको सरकारले स्पन्ज आइरनमा भने १ प्रतिशत भन्सार महसुल मात्र असुल्ने नीति ल्यायो ।

सरकारको यो नीतिले भट्टीमा स्क्रेप गलाएर डन्डी उत्पादन गर्ने उद्योग र बिलेटबाट डन्डी उत्पादन गर्ने उद्योगबीचको उत्पादन लागतमा झन्डै ११ प्रतिशतले फरक ल्यायो । जसका कारण बजारमा प्रतिस्पर्धा गर्न नसक्दा शाःख स्टिल मात्रै होइन, बिलेट आयात गरी डन्डी उत्पादन गर्दैआएका बाराका हामा, शालिमार, वन्दनासँगै मुलुकका २४ वटा उद्योगमध्ये केही उद्योग बन्दै भइसकेका छन् ।

अन्य उद्योगहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग बन्द हुँदा उद्योगीको लगानीसँगै मजदुरको रोजगारी र सरकारको राजस्वमा समेत असर गर्ने अवस्था आएपछि यतिबेला संसदीय टोली उद्योगको अवस्था बुझ्न देश दौडाहामा छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख २५ गतेसम्म वीरगन्जको सुक्खा बन्दरहगाह भन्सारबाट पाँच अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको सात करोड ३० लाख किलो बिलेट आयात भएको देखिन्छ भने सोही अवधिमा २३ अर्ब २६ करोड ५९ लाख मूल्यबराबरको झन्डै ५० करोड किलो स्पन्ज आइरन आयात भएको छ ।

सोही अवधिमा वीरगन्जको मुख्य भन्सार आईसीपीबाट ६८ करोड रुपैयाँ बराबरको ९० लाख ३७ हजार किलो बिलेट आयात भएको देखिन्छ भने सोही अवधिमा दुई अर्ब ५० करोड मूल्यबराबरको पाँच करोड ६० लाख किलो स्पन्ज आइरन आयात भएको देखिन्छ ।

हेर्नुहोस् उपेन्द्र ठाकुरका थप समाचार


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।