धादिङको ताप्राङ भिरमा ‘हनी हन्टिङ’, बढ्दै पर्यटक

वैशाख २५, २०८१ |पोषनाथ अधिकारी
धादिङको ताप्राङ भिरमा ‘हनी हन्टिङ’, बढ्दै पर्यटक

धादिङ । भिरमौरीको मह काढ्ने काम आफैंमा रोमाञ्चक र जोखिमपूर्ण छ । त्यसो त पछिल्लो समय मानिसहरुले घरघरमा मौरीपालन गर्न थालेपछि धेरैले भिरमौरीको मह काढेको बिर्सिंदै गए । तर संघीय राजधानीसँग जोडिएको धादिङमा हनी हन्टिङ, पर्यटकीय गतिविधि बढाउने माध्यम बनेको छ ।

धादिङको गंगाजमुना गाउँपालिकाको २ नम्बर र ३ नम्बरको बीचमा पर्ने ताप्राङ खोलामाथिको ताप्राङ महभिरको पारिपट्टि जंगलमा स्थानीयको भिड थियो । देख्दै डरलाग्दो झन्डै १२ सय मिटर अग्लो भिरमा लामो, बलियो डोरीको सहायताले बनाइएको भर्‍याङ झुन्ड्याइएको थियो । त्यही डोरीबाट तीन युवा भिरतिर झर्दै थिए । भिरमा छन् भिरमौरीका घार । यही दृश्यलाई वारिपट्टि जम्मा भएका मानिसहरु बडो रोचक ढंगले हेर्दै थिए ।

ताप्राङ महभिरमा स्थानीयले वर्षौंदेखि वर्षको दुईपटक मह निकाल्दै आएका छन् । पहिले केही व्यक्तिले आफ्नै तरिकाले मह निकाल्ने गरेको भए पनि अहिले यसलाई ‘हनी हन्टिङ’ मेलाको रुपमा लिने गरिएको छ ।

साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको भन्दै महभिरलाई पर्यटनसँग जोडेर हनी हन्टिङलाई उत्सवकै रुपमा अगाडि बढाउने गाउँपालिकाको योजना छ । ‘यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले योजना बनाएर अघि बढिरहेको छ,’ गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले भन्नुभयो ।

भिरको नजिकै लामो झरनासमेत भएकाले हनी हन्टिङसँगै यस क्षेत्रमा क्यानोनिङसमेत गराई पर्यटक भित्र्याउने पालिकाको योजना छ । एकै ठाउँमा धेरै मौरी हुने भएकाले एक सातासम्म हनी हन्टिङ सञ्चालन गर्न सकिन्छ ।

भिर मौरीको महलाई विभिन्न किसिमको औषधिको रुपमा प्रयोग गरिन्छ । यसरी निकालिएको मह प्रतिकिलो एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।