काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताउनु भएको छन् ।
काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटन सत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहनु भएका मन्त्री पुनले नेपाललाई लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताउनु भयो । उहाँले नेपालको आह्वानमा लगानीको अवसर र सम्भावना खोज्न आउने पाहुनाप्रति आभार व्यक्त गर्नु भयो ।
सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको मन्त्री पुनको भनाइ थियो । उहाँले सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवालाबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको जनाउनु भयो ।
नीति निर्माताहरू, लगानीकर्ताहरू, विशेषज्ञहरू र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकासजस्ता क्षेत्रमा सहकार्यका लागि सम्मेलन नेटवर्किङ गर्ने अवसरमा रुपान्तरण हुने विश्वास मन्त्री पुनको छ ।
नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको मन्त्री पुनले उल्लेख गर्नुभयो ।
हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको पुष्टि हुने जनाउँदै मन्त्री पुनले ढुक्क भएर लगानी गर्न अपिल गर्नु भयो ।
‘व्यावसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौं’, मन्त्री पुनले भन्नुभयो, ‘नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ ।’
नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको मन्त्री पुनको भनाइ थियो ।
सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
नेपालको प्रचुर लगानीको सम्भावनालाई उजागर गर्न र दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न लगानी सम्मेलन कोसेढुङ्गा सावित हुने मन्त्री पुनले विश्वास व्यक्त गर्नुभयो ।